१५ कात्तिक, गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउन सफल भएका छन् ।
उनले सञ्चालन गरेको पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्ध यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका हुन् ।
उनले गोलभेंडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् ।
उनले फार्मबाट वार्षिक १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा आठ लाख बचत गर्ने गरेको दाबी गरे । उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन् ।