
सहायकबाट मुख्य पात्र हुँदै ‘बुसान’ को रेड-कार्पेटसम्म पुगेकी पशुपति
दक्षिण कोरियामा हुने ‘बुसान फिल्म महोत्सव’ मा विभिन्न कलाकारलाई उनले रेड-कार्पेटमा हिँडेको देखेकी थिइन्। कुनै दिन आफैं हिँडुला भनेर कल्पना भने गरेकी थिइनन्।
यो वर्ष कलाकार पशुपति राईको जीवनमा त्यो दिन आयो।
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ ले उनलाई उक्त अवसर दिएको हो।
किराती समुदायभित्रको राई जातमा केन्द्रित यो फिल्ममा उनको प्रमुख भूमिका थियो। जनजाति समुदायको संस्कृति र दर्शन समेटिएको यो फिल्मलाई बुसानका दर्शकहरूले रूचाए।
यही फिल्मको प्रतिनिधित्व गर्दै बुसान पुगेकी पशुपति जब फिल्म र उनको नाम बोलाएपछि रेड-कार्पेटमा हिँडिन्, हजारौं दर्शकले थप्पडी बजाए। चारैतिरबाट आएका क्यामराको चहकले उनका आँखा चम्किए।
केही साताअघि बुसानबाट फर्किएकी उनले त्यस क्षणको अनुभूति साट्दै भनिन्, ‘मलाई त के गरौं गरौं भयो। एकछिन अलमलमा परेँ। त्यति धेरै दर्शकको माया देखेर एकछिन त नर्भस भएँ। खुसी र उत्साहले आँखा रसाए। त्यो एउटा मिठो क्षण थियो जसलाई म सायद शब्दमा बयान गर्न सक्दिनँ।’