कोप २८ मा नेपाल याचना नभई सशक्त दावीका साथ प्रस्तुत हुन्छ : प्रधानमन्त्री

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप २८ मा नेपाल याचना नभई सशक्त दावीका साथ प्रस्तुत हुने बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले दुबईमा हुने कोप २८ सम्मेलनमा पर्वतीय मुलुकहरूको समस्यालाई रणनीतिक रूपमा उठान गरी वित्त अनुदान जलवायु न्यायको रूपमा पाउन आफूले पैरवी र दाबी गर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋण केन्द्रित भएकाले यसलाई बदल्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरिने बताउनुभयो ।

जलवायु परिवर्तनका चुनौती र अवसरहरूका बारेमा विश्व समुदायसँग नेपालले निरन्तर संवाद गरिरहेकाले अझै यसलाई परिणाममुखी बनाउने अवसरका रूपमा कोप २८ रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्ना प्रतिविद्धताको जिम्मेवारी पालनाका लागि नेपालले सशक्त पैरवी गर्ने समेत बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धी पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन कोप २८ यही नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म दुबईमा हुदैछ ।

उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ ।