भारतलाई बिजुली बेचेर ४ महिनामा साढे १२ अर्ब रुपैयाँ आम्दानी
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवको साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट बिजुली निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आम्दानी गरेको हो ।
बिजुली निर्यात गएको आव २०७९÷८० को यही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गएको आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट बिजुली निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो । प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । चार महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट नौ रुपैयाँ १८ पैसा छ । गएको वर्ष यही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा बिजुली निर्यातबाट आम्दानी भएको रकमले देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।