धुलिखेल अस्पतालमा ४२ करोडको ‘उधारो’ उपचार
धुलिखेलर सरकारले कबोल गरी निःशुल्क उपचार गरेको रकम भुक्तानी नगर्दा धुलिखेल अस्पतालमा आर्थिक संकट बढ्दै गएको छ । सरकारले भुक्तानी गर्नु पर्ने ४२ करोड ६ लाख रकम समयमै भुक्तानी हुन नसक्दा अस्पतालका दैनिक गतिविधिमा समेत प्रत्यक्ष असर पर्न थालेको छ ।
‘२०७२ सालको विनाशकारी भुकम्प, कोभिड तथा स्वास्थ्य बीमा बापत प्राप्त हुनु पर्ने रकम समयमै भुक्तानी नहुँदा संस्थालाई आर्थिक ब्यवहार थपिएको छ’–धुलिखेल अस्पतालको लेखा शाखाले बताएको छ । ‘भुकम्पमा सरकारले निशुल्क उपचार गर्ने घोषणा गरे अनुरुप नागरिकहरुको उपचार बापत प्राप्त हुनु पर्ने ३ करोड ३ लाख अझै भुक्तानी भएको छैन । त्यस्तै कोभिड १९ को उपचार बापतको साढे ४ करोड रकम पनि भुक्तानी हुन सकेको छैन । स्वास्थ्य बीमा बापतको २०८० बैशाख देखि कार्तिक मसान्तसम्मको मात्रै ३१ करोड रकम भुक्तानी हुन बाँकी छ । काठमाडौ विश्वविद्यालयको सिनेटले आर्थिक ऐन २०६४ शंशोधन गर्दै त्यस अघि विश्वविद्यालयका डिन र अस्पतालको प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षरबाट संचालन हुँदै आएको काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सको खाता उपकुलपति र रजिस्ट्रारको नामबाट संचालन गर्ने निर्णय गरे पछि कर्मचारीहरुको पारिश्रमीक भुक्तानीका लागि दशै अगावै विश्वविद्यालयसँग १२ करोड सापटी लिएको थियो । उक्त खातामा विद्यार्थीहरुबाट जम्मा भएको २५ करोड रकम भए पनि खाता संचालन नभएका कारण खर्च हुन सकेको थिएन । कोभिड १९ को समयमा काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्स १ अर्ब ५ करोड ४ लाख घाटामा गएको अस्पतालले जानकारी गराएको छ ।
‘शैक्षिक सत्र २०२० को युजी कार्यक्रम मा विद्यार्थी भर्ना हुन नसकेको कारण ६६ करोड १८ लाख, चिकित्सा शिक्षा आयोग मार्फत पठाईएका विद्यार्थीहरु सम्वन्धित मेडिकल कलेजहरुमा अध्यापन नगरिएको विद्यार्थीहरु सोहि स्कुलमा निशुल्क भर्ना तथा स्थानान्तरण गरिएको विद्यार्थीहरुको शुल्क बापतको २ करोड ४७ लाख ५० हजार, कोभिड १९ का कारण विद्यार्थीहरु कम भर्ना भएका विद्यार्थीहरुको शुल्क २ करोड ६५ लाख ५० हजार र सम्वन्धन शुल्क बापत काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेज अन्र्तगत मेडिकल कलेजहरुबाट प्राप्त हुन बाँकी सम्वन्धन शुल्क ५ करोड ४७ लाख समेत गरी १ अर्ब ५ करोड ४ लाख घाटा ब्यहोर्नु परेको अस्पतालको लेखा शाखाले जनाएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी उपचार गरिएका विरामीहरुको उपचार खर्च शोधभर्ना हुन बाँकी, २०७२ सालको भुकम्पमा परी घाईते भएका विरामीहरुको उपचार बापत नेपाल सरकारबाट प्राप्त हुन बाँकी रकम, कोभिड १९ संक्रमित विरामीहरुको निशुल्क उपचार बापत प्राप्त हुनुपर्ने ११ करोड १३ लाख मध्ये नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त हुन आएको ६ करोड ६० लाख कटाएर ४ करोड ५३ लाख तथा बागमती प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेशका ओखलढुंङ्गा, उदयपुर तथा मधेश प्रदेशका केहि जिल्लाका नागरिकहरुको समेत गरी १० हजार ७२ जनाको निशुल्क पिसिआर परिक्षण बापत लिनु पर्ने ३ करोड ५० लाख रुपैया समेत भुक्तानी नभएको अस्पतालले जनाएको छ। धुलिखेल अस्पताल यतिखेर सप्लायर्स लगायतको भुत्तानीका लागि ४० करोड ऋणमा छ । धुलिखेल अस्पतालमा हजार ३ सय भन्दा धेरै कर्मचारी कार्यरत छन् । जसका लागि मासिक ९ करोड २५ लाख पारिश्रमीक खर्च हुँदै आएको छ । १५ वर्ष देखि सहकार्यमा संचालन भएका दुबै संस्था अहिले फरक फरक ढंगबाट संचालनको तयारीमा जुटेका छन् ।