प्राध्यापकले तलब नपाउँदा पठनपाठन ठप्प
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । उक्त प्रतिष्ठान बाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाका अनुसार प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् ।
प्रतिष्ठानमा गएको कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प रहेको उनले बताए । प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनको तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको सापकोटाले बताएका छन। तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताएका छन ।