विद्यार्थीलाई ‘दुना टपरी’ बनाउन सिकाउँदै बेलर एकेडेमी
बनेपाको बेलर इन्टरनेश्नल एकेडेमीले विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिएको छ । सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा सिकाईको क्रममा विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने उद्देश्यले बेलर स्कुलले दुना टपरी बनाउने तालिम सञ्चालन गरेको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् । व्यक्ति जन्मेदेखि मृत्युसम्म आवश्यक हुने दुना टपरीको संस्कृति लोप हुँदै जान थालेसँगै विद्यालयहरुमा विद्यार्थीहरुलाई त्यस सम्बन्धी जानकारी दिँदै प्रयोगात्मक तालिम दिन थालिएको हो ।
पढाइसँंगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले बेलरले कक्षा ९ अध्ययरत छात्र छात्राहरुलाई दुना टपरी बनाउने तालिम प्रदान गरेको छ। साल तथा अन्य पातबाट बनाइने दुना टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुँदै गएकोले यसको संरक्षणको लागि तालिमको आयोजन गरिएको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।
विद्यालयका शिक्षक शिक्षिकाहरुले सालको पातबाट बनाइने दुना टपरीको आवश्यकता, महत्त्व र विशेषताका बारेमा प्रकाश पार्दे विद्यार्थीहरुलाई दुना टपरी बनाउने सिप सिकाएका थिए । विशेषगरी हिन्दु धर्म मान्ने ब्यक्तिहरुले भोज भतेर, पूजाआजा जस्ता कार्यक्रममा दुना टपरी प्रयोग गर्ने प्रचलन रहेको छ ।
पछिल्लो समय कागज र प्लाष्टिकका प्लेटको प्रयोग वढेपछि दुना टपरी लोप हुने अवस्थामा पुगेको हो । विद्यालयस्तरबाटै सीप सिकाउँदा मौलिक कला परम्परा जगेर्ना हुनुको साथै छात्राहरूलाई पछि व्यावहारिक रुपमा समेत सहयोग पुग्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बताए । थापाका अनुसार बेलर स्कुलले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान समेत उपलब्ध गराउँदै आएको छ । सोही अन्तर्गत दुना टपरी सम्बन्धी सिप सिकाइएको हो ।