चलचित्र संघ र निर्माता संघबीच ५० प्रतिशत सेयर बाँडफाँडबारे सहमति
नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको बारे सहमति भएको छ। चलचित्र रिलिज भएपछि निर्माताहरूले पाउने सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विद्रोहपछि भएको वार्तामा सहमति जुटेको हो।
निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार अब ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति भएको छ। उनका अनुसार अब निर्माताहरुले फिल्म रिलिज गरेबापत सधैं ५० प्रतिशत सेयर पाउनेछन्। दुवै संघबीच ५० प्रतिशत सेयर बाँडफाँड सहमति भएको उनले बताए। यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो। ५ गते वार्ता बस्ने सहमति भएसँगै फिल्म प्रदर्शन नरोक्ने निर्णय गरेका थिए।
तर, ५ गतेको वार्ता निष्कर्षविहीन भएपछि दुवै संघले वार्ता समिति गठन गरेर छलफल अगाडि बढाएका थिए। बुधबार र बिहीबार दुईदिनको वार्तापछि ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति मिलेको हो।