बाँकेमा खाद्य व्यवस्थाले किसानको धान किन्न थाल्यो

बाँकेमा किसानले उत्पादन गरेको धान खरिद प्रक्रिया शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले किसानले उत्पादन गरेको धान खरिद गर्न शुरु गरेको हो ।

नेपालगञ्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको प्राङ्गणमा धान बिक्री गर्न आउनुभएका पहिलो किसान बाँकेको जानकी गाउँपालिका–५ का रुपबहादुर कार्कीलाई स्वागत गरेर धान खरिद शुरु गरेको लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।

पालिकाको सिफारिस लिएर आएका किसानको धान परीक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न शुरु गरिएको छ । आज दिनभर छ जना किसानबाट दुई सय ३० क्विन्टल धान खरिद गरिएको छ ।

यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ । गैरकिसानले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचानका लागि पालिकाबाट सिफारिस अनिवार्य गरिएको छ ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ कायम गरेकोले त्यही भाउमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ ।