उत्कृष्ट उद्योगीलाई सम्मान गर्दै काभ्रेमा उद्योग दिवस मनाइयो
उत्कृष्ट उद्योगीहरुलाई सम्मान र सिप सिकेकाहरुलाई प्रमाणपत्र वितरण गर्दै काभ्रेपलाञ्चोक जिल्लामा नऔ उद्योग दिवस मनाईएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र घरेलु अधिकृत यज्ञवबहादुर वलीले उद्योगीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उत्पादन, रोजगार, आर्थिक समृद्धीको महत्वपूर्ण क्षेत्र भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । देशको आयातलाई विस्थापित गर्दै निर्यातलाई प्रर्वद्धन गर्न उद्योग संचालन गर्नु अपरिहार्य रहेको उनको भनाई छ । सरकारले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउने बताउँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सिप, श्रमको भरपुर उपयोग गरी नेपाललाई समृद्ध बनाउन सबै क्षेत्रको उत्तिक्कै सहयोग आवश्यक रहेको बताईन् । घर घर सिप र उद्यमी उत्पादन गरी मुलुकलाई आत्मनिर्भर केन्द्रित अभियानमा जुट्न उनको आग्रह छ । उद्योगी ब्यवसायीका केहि समस्या भए समाधानको बाटो पहिल्याउँदै उद्योग र उद्यमीमैत्री वातावरण निर्माणका लागि सदैव तत्पर रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताईन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख घरेलु अधिकृत यज्ञबहादुर वलीले जिल्लाका सबै क्षेत्रमा रहेका घरेलु तथा साना उद्योग तथा अन्य उद्योगहरुको संरक्षण, प्रर्वद्धन गरी रोजगार, उत्पादन र आर्थिक समृद्धीका लागि वातावरण बनिरहेको बताए । स्थानीय सरकारले घरेलु उद्योग दर्ता गर्ने र सिप सिकाउन सक्ने बताउँदै घरेलु अधिकृत वलीले घरेलु तथा साना उद्योग कार्यालयले सिप, प्रवृधि र सामाग्री समेत उपलब्ध गराउने गरेको बताए । घरेलु तथा साना उद्योग कार्यालय मार्फत संचालन गरिएका हेयर कटिङ तथा सेल्फ मेक अफ तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागिहरुले सिप सिकेर विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्न राज्यले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण गर्न सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य मञ्जुकुमार कोँजु, जिल्ला उपाध्यक्ष कैलाश पालञ्चोके, घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समुहकी अध्यक्ष निरु बैदार, प्रशिक्षक रामेश्वरी मानन्धर र प्रशिक्षार्थी प्रल्हाद न्यौपाने लगायतले मन्तब्य राखेका थिए । घरेलु कार्यालयका इश्वरकुमार पाण्डे, रविन्द्र चौलागाई लगायतले घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त सेवाका बारेमा जानकारी गराएका थिए ।
उद्योग दिवसमा जिल्लाका विभिन्न स्थानमा विमला श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, सुनेना श्रेष्ठ, सम्झना तामाङ, सोमोमाया बल र रविन्द्र हुमागाई लगायतलाई सम्मान गरिएको थियो ।