भारतले दिएको मुर्रा राँगा पोखरा आइपुगे, फूलमालाले स्वागत
भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगामध्ये ७ वटा पोखरा आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । नेपालले पाएको १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरिएको हो ।
पोखरा महानगरपालिका–१५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगञ्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएका राँगाहरु प्रजनन कार्यालयमा राखिएका छन् ।
सबै राँगा करिब एक महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिए । उनले उन्नत जातका मुर्रा राँगोबाट एक पटकमा तीन सय पटक हाराहारी पुग्ने वीर्य सङ्कलन गर्न सकिने बताएका छन । मुर्रा राँगाबाट एक वर्षमा १५ देखि २० हजार पटक वीर्य सङ्कलन गर्ने लक्ष्य रहेको पाण्डेले बताए ।