बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुलिखेलमा शुरु
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा बागमती प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी शुरु भएको छ । गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ ।

प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले गोष्ठीको शुभारम्भ गर्दै सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकहरुको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न महत्वपूर्ण रहेको बताए । ‘सुरक्षा र अपराध अनुसन्धान जस्तो विषयमा अनुसन्धान, अभियोजन र न्याय निरुपणका सन्र्दभमा भएका अभ्यास, अनुभव र आगामी योजना बनाउन महत्वपूर्ण हुनेछ’– प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले भने–‘बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्काे देशमा हुन सक्ने अपराध र त्यसको न्यूनिकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्वपूर्ण हुनेछ ।’
बागमती प्रदेश सरकारका आन्तरिक मामीला तथा कानून सचिव ध्रर्व गैडाले बदलिँदो परिस्थिती र समय अनुसार नेपालमा बढिरहेका अपराध र अपराध अनुसन्धानका चुनौतीलाई सामना गर्न गोष्ठीको निश्कर्ष महत्वपूर्ण हुने बताए । नेपाली प्रहरीले लिएको मुल मन्त्रसँगै नागरिकहरुको जिउधनको रक्षा गर्ने प्रहरीको मुल दायित्वलाई अझै प्रभावकारी बनाउँदै लैजान सरोकारवाला सबै निकायहरु सक्षम हुँदै जान गोष्ठीको औचित्य झनै महत्वपूर्ण हुने बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विश्वबाटै अन्त्य गर्ने अभियान जारी रहेका बेला बामगती प्रदेश प्रहरी कार्यालयले प्रदेश भित्र भएका अपराध अनुसन्धान तथा नागरिकहरुको सुरक्षाका बारेमा समिक्षा गर्ने महत्वपूर्ण गोष्ठीले नागरिक मैत्री सेवामा सहजता आउने बताईन् । जिल्लामा पछिल्ला समय देखिन थालेका फरक खालका अपराध र त्यसको अनुसन्धानका लागि आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र समन्वयका बारेमा प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरी अनुसन्धान निश्पक्ष र प्रविधी मैत्री हुनु पर्नेमा जोड दिईन् । कार्यक्रममा साईबर अपराध, अनुसन्धानका चुनौती, संहिता कानूनको कार्यान्वयन, बागमती प्रदेशका जिल्लाहरुमा भएका अपराध र अनुसन्धानमा भएका प्रगति तथा समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिने बामगती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले बताए । ‘अपराधिक कृयाकलापमा परिवर्तन भएको र अपराधको शैली समेत बदलिएको अवस्थामा त्यसका आवरणमा हुन सक्ने थप घटनाका बारेमा समेत गोष्ठीमा समिक्षा हुनेछ’–प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले भने–‘एउटा देशमा रहेर अर्काे देशमा अपराध गर्ने प्रवृत्ति, अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका बारेमा गोष्ठीमा छलफल हुनेछ ।’
बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणाले प्रहरीले आफैलाई सबल बनाउँदै लैजानु पर्ने चुनौती रहेको बताउँदै प्रहरीका समस्या र समाधानका उपायका बारेमा दुई दिवसीय कार्यक्रममा छलफल हुने बताईन् । सामाजिक संञ्जालका कारण बढेका अपराधको अनुसन्धान र त्यसका नियमनका बारेमा प्रहरी अधिकारीहरु सक्षम हुनु पर्ने राणाले बताईन् । गोष्ठीको समापन कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामीला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ लगायतले सम्बोधन गर्नेछन् ।
