आयुर्वेदः बुझाई र वास्तविकता, महत्त्व र आवश्यकता
परिचयः
आयुर्वेद शब्द आयु तथा वेद यी दुई शब्दको संयोजनबाट बनेको छ। आयु भन्नाले शरीर, मन, आत्मा, र इन्द्रियको संयुक्त अवस्था हो भने वेद भन्नाले ज्ञान भन्ने बुझिन्छ। आयुको समग्र ज्ञान, आयुका लागि हित हुने कुरा, रोगका कारण र उपचार, आहारविहार, औषधिविज्ञान इत्यादि चौतर्फी विधाहरुलाई यसले समेटेको छ। आयुर्वेदभित्र शरीररचनाशास्त्र, शरीरक्रियाशास्त्र, रोगविज्ञान, औषधिविज्ञान, स्वस्थ जीवनका लागि चाहिने स्वस्थवृत्त, बालक, युवा, वृद्ध, महिला सबै अवस्था र उमेरमा हुने रोगका पृथक् पृथक् ज्ञान, ती रोगहरुको चिकित्सा सिद्धान्त र विधिहरु वर्णन गरिएको हुन्छ।
विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिहरुमध्ये आयुर्वेद सबैभन्दा पुरानो र समृद्ध चिकित्सापद्धति हो।जन्मेदेखि मरणसम्म जीवनलाई हितायु र सुखायु बनाउने विधि यस पद्धतिले सिकाउँछ। प्रातःकालमा उठेदेखि दिनभरि गरिने दिनचर्याका नियम, ऋतु अनुसारका पालन गर्नुपर्ने ऋतुचर्याका नियम, खानपानका नियम, सदाचारका नियमस उमेर, अवस्था, रोग र ऋतुअनुसारका पथ्याहारका नियम आयुर्वेदका विशिष्ट प्रतिपादनहरु हुन्।ूस्वस्थस्य स्वास्थ्यरक्षणम् आतुरस्य विकार प्रशमनञ्चू अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको जगेर्ना र रोगका अवस्थामा सो रोगको निवारण जस्ता दुई प्रमुख उद्देश्य बोकेको आयुर्वेदले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनुलाई प्राथमिकतामा राखेको प्रष्ट हुन्छ।
आयुर्वेदमा औषधिप्रयोगः
मुख्यतया वनस्पति, खनिज तथा जन्तु गरी तीन प्रकारका औषधिका स्रोतहरु आयुर्वेदले महत्त्वका साथ बताएको छ। अश्वगन्धा, शतावरी, अमला, बोझो, टिम्मुर तुलसी इत्यादि वनस्पतिद्रव्य हुन् भने पारद (पारो), स्वर्ण, चाँदी, लौह, चून, लवण तथा अन्य खानिबाट प्राप्त हुने द्रव्यहरु खनिजमा पर्दछन्।त्यसैगरी शङ्ख, मूँगा, मोती, गोरोचन, कस्तूरा, गैँडाको खाग, हस्तिदन्त, मृगशृङ्ग जस्ता पदार्थहरु जन्तुजनित द्रव्यमा पर्दछन्।आजभोलि कसैकसैले जडीबुटी मात्र आयुर्वेद हो भन्ने भ्रम समेत पालेको देखिन्छ।परन्तु आयुर्वेदले नानौषधिभूतं जगदि किञ्चिद्द्रव्यमस्तिू भनेर उचित प्रयोग जानेको खण्डमा संसारका सबै द्रव्यलाई औषधिका रुपमा समेत लिन सकिने तथ्य प्रस्तुत गरेको छ। यी द्रव्यहरुमध्ये सबै भन्दा सुलभ, सजिलो, सस्तो र निरापद रुपमा प्रयोग गर्न सकिने द्रव्य जडीबुटीहरु नै हुन्।जडीबुटीबाट आयुर्वेदमा स्वरस (रस), कल्क, चूर्ण, वटी (गोली), आसव, अरिष्ट, अवलेह जस्ता अलग अलग स्वरुपका औषधिहरु बन्दछन्।
औषधि उपचारमा प्रयोगमा आउने बोटबिरुवाहरुलाई नै जडीबुटी भन्ने गरिन्छ। नेपालमा प्राचीन कालदेखि नै परम्परागत रुपमा औषधोपचारमा जडीबुटीहरुको प्रयोग निरन्तर हुँदै आइरहेको छ। प्राचीन कालदेखि आयुर्वेद जनजीवनमा एकात्म रुपले बसेको पाइन्छ। पूर्वीय ज्ञानविज्ञानको मूल चार वेद ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद हुन्। यी चार वेदहरुमध्ये अथर्ववेदको उपवेदका रुपमा आयुर्वेद प्रसिद्ध छ। अथर्ववेदमा धेरै थरी जडीबुटीहरुको प्रयोगको वर्णन छ।नेपालको हिमालय क्षेत्र दुर्लभ जडीबुटीहरुको भण्डार हो। आयुर्वेदको उत्पत्तिको मूल थलो पनि हिमालय क्षेत्र नै रहेको कुरा आयुर्वेदको एक महत्त्वपूर्ण ग्रन्थ चरकसंहितामा पनि लेखिएको छ। प्राकृतिक जडीबुटीहरु लामो परम्पराबाट हितकारी प्रमाणित भएका हुन्। हजारौं वर्षदेखि अविच्छिन्न परम्पराका रुपमा प्रयोगद्वारा क्रमशः प्रमाणित हुँदै आएका जडीबुटीहरुको प्रभावकारिता कोभिड १९ का समयमा आउँदासम्म पनि उत्तिकै देखिएको तथ्य सबैका सामु प्रष्ट नै छ।

आयुर्वेदका विशेष पक्षहरुः
१. सस्तो र सुलभ देखि बहुमूल्य र दुर्लभ उपचार विधिहरुको प्रयोगः तातोपानी जस्तो अत्यन्त सस्तो, सुलभ र साधारण पदार्थदेखि लिएर हीरा, स्वर्ण, हस्तिदन्त जस्ता दुर्लभ र बहुमूल्य पदार्थहरुबाट समेत औषधोपचार गर्ने विधान आयुर्वेदमा छ परन्तु नेपालमा आजभोलि विस्तृत रुपमा अन्वेषण, अध्ययन गर्ने वा प्रयोगमा ल्याउने काम दुर्लभै देखिन्छ
२. संयमित आहार, विहार, आचार, स्वस्थकर जीवनशैलीको अनुपालन जस्ता औषधिविहीन पद्धति समेत उत्तिकै प्रभावकारी
३. विशिष्ट आठ आहारविधिविशेषायतनद्वारा भोजन र भोजनग्रहणको विधिको समेत महत्त्व बताइएको
४. रोग र रोगीको अवस्था, समय, वातावरण इत्यादिको अनुकूल दिनचर्या, ऋतुचर्या इत्यादि नियमको पालनको निर्देश
५. जरीबुटीहरुको सम्पूर्ण रुपको प्रयोगले गर्दा पार्श्वप्रभावमा कमी
६. पारो, तामा, सङ्खिया, वत्सनाभ, कुचिला, भाङ्ग, अफिम, करवीर, जयपाल जस्ता विषद्रव्यलाई समेत आयुर्वेदीय रसशास्त्रमा उल्लिखित शोधन, निर्विषीकरण इत्यादि विभिन्न विधिद्वारा सेवनयोग्य बनाई औषधि उत्पादन हुने
७. असाध्य व्याधिहरुमा अनावश्यक साधनस्रोतसमय नष्ट नगर्न र समयमै रोगीका परिवारमा सूचित गर्ने निर्देश
८. पथ्य तथा अपथ्यको रोगानुसार निर्देश
९. रोग बढ्न नपाउँदै जरो नष्ट गर्ने उपायको निर्देश
१०. व्यक्तिनिष्ठ चिकित्सापद्धतिको अवधारणा, इत्यादि।
आयुर्वेदको विकासको आवश्यकता र उपाय
अबको समयमा आयुर्वेदलाई घरघरमा लैजानुका साथै कसरी विस्तार गर्न सकिन्छ त भन्ने कुरामा सबैको ध्यान जानु आवश्यक छ। हाम्रो समाज नसर्ने रोगहरु मधुमेह उच्चरक्तचाप थाइराइडसम्बन्धी बिमारी तथा क्यान्सर जस्ता कठिन वा असाध्य रोगहरुको चपेटामा परिसकेको छ। यस्ता रोगबाट बच्न आयुर्वेद योग तथा प्राकृतिक चिकित्सालाई समेत सँगै लैजानु उपयुक्त हुने देखिन्छ। छिटो रोगमुक्त हुने आशामा घातक परिणाम पनि प्राप्त हुने तथ्यलाई हृदयङ्गम गर्दै आयुर्वेद शिक्षा र चिकित्सा प्रणालीको विस्तार गर्नु आजको आवश्यकता भइसकेको छ।यसका लागि निम्नलिखित बूँदाहरुमा राज्य र समाजका अग्रणीहरुबाट परिपालन गर्ने गराउने व्यवस्था हुनु उपयुक्त हुन्छ–
हाम्रा पुर्खाहरुले औषधिका रुपमा प्रयोग गर्दै आइरहेका जरीबुटीहरुको अन्वेषण, संरक्षण गर्दै प्रयोगमा ल्याउने
१.साधारण अवस्थामा प्रयोग हुने घिउकुमारी, बोझो, तुलसी, टिमुर जस्ता जरीबुटी आफ्नै बारीमा लगाउने र उपयोग गर्ने
२. व्यावसायिक जडीबुटी खेतीलाई प्रवर्द्धन गर्न तिनै तहका सरकारले विभिन्न नीति एवम् योजना बनाउने र सिंहदरबार वैद्यखाना जस्ता संस्थाहरुको उन्नति गर्दै अन्य प्रशोधन तथा औषधि उत्पादन केन्द्रहरुको स्थापना गर्ने
३. ज्ञानको हस्तान्तरण पुस्ता(दर(पुस्ता गर्दै जान सबै व्यक्ति सचेत बन्ने
४. आयुर्वेदका नाममा हुने गरेका विज्ञापन, भ्रामक प्रचार, वारेन्टी ग्यारेन्टीका हास्यास्पद कुरा तथा ठगीधन्दालाई निरुत्साहन गर्ने वा सो सम्बन्धमा जनतामा चेतना दिने
५.आहार नै अमृत र आहार नै विष समेत भएकाले शुद्ध र स्वच्छ आहार नै सेवन गर्ने अखाद्य वस्तु कृत्रिम रङ्ग प्रयोग गरेका पदार्थहरुको प्रयोगलाई सबै तहबाट निरुत्साहन गर्ने, त्यस्ता विज्ञापनमा रोक लगाउने
६.आयुर्वेदमा बताइएका विहारका नियमहरु जस्तै शयन, जागरण, व्यायाम, चङ्क्रमण, अभ्यङ्ग (मालिस), स्नान, जस्ता प्रक्रियाहरुमा नियम पालन गर्ने
७. विद्यालयहरुमा ससाना भाइबहिनीहरुलाई आयुर्वेदको सिद्धान्त, महत्त्व, साधारण जरीबुटीहरुको परिचय, महत्त्व र उपयोग इत्यादिको ज्ञान दिन पाठ्यपुस्तकहरुको निर्माण गरी अनिवार्य अध्ययन अध्यापनको व्यवस्था गराउने, इत्यादि।
आयुर्वेदः भूत र वर्तमान
संसारमा मानवको सृष्टि पूर्व नै आयुर्वेद उत्पत्ति भएको मानिन्छ।अथर्ववेदको उपवेदका रुपमा रहेको आयुर्वेद वेदहरुको समानै अपौरुषेय शाश्वत र सनातन छ। यसका सिद्धान्तहरु पनि कहिल्यै पुराना र असत्य नहुने र अपरिवर्तनीय छन्।चरक संहिता, सुश्रुत संहिता तथा वाग्भट संहिता (अष्टाङ्गहृदय) जस्ता प्राचीन ग्रन्थहरु आज पनि उत्तिकै प्रामाणिक छन्।
नेपालमा आयुर्वेदको औपचारिक शिक्षा चन्द्र शमसेरका पालामा शुरू भएको देखिन्छ। आयुर्वेदको शिक्षा औपचारिक ढङ्गले दिलाउने उद्देश्यले उनले पहिलो पटक आठ जना नेपाली विद्यार्थीहरुलाई भारत पठाएका थिए र स्वदेश फर्किएपछि उनीहरुद्वारा स्वास्थ्यसेवा दिलाउने व्यवस्था मिलाइएको थियो।देशभरमा विभिन्न औषधालयहरुको स्थापना गरी कविराज तथा औषधीकुटुवाको दरबन्दी सहित स्थानीय जडीबुटीको भरपूर उपयोग गर्दै निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिने काम प्रारम्भ भएको थियो। हाल केन्द्रीय चिकित्सालयले शताब्दी पूरा गरिरकेको अवस्था छ। त्यतिबेला राणाकालमा भएजतिको सकारात्मक सोच पछि आयुर्वेदले कमै प्राप्त गरेको र त्यसका लागि समय समयमा विभिन्न संघर्षहरु गर्नु परेको इतिहास छँदैछ ।यसरी धेरै पछिसम्म पनि आयुर्वेद यथास्थितिबाट खासै उठ्न सकेको पाइँदैन।
परिवर्तित देश, काल, परिस्थितिका कारण आयुर्वेदकै सिद्धान्त र विधिहरुको अनुकरण गर्दै, परिष्कृत हुँदै गएको, हिप्पोक्रेटसबाट शुरु भएको आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक सिद्धान्तको भरपूर प्रचार, प्रसार, विस्तार र अनुसन्धान भएको साथै राज्यको प्राथमिकतामा समेत पारिएको कारण जनमानसमा यसको बढी प्रभाव पर्न गएको देखिन्छ भने प्रचारप्रसारको अभाव र राज्यको उदासीनता समेत भोगिरहेको आयुर्वेद जनमानसबाट ओझेलमा रहेको देखिन्छ।राष्ट्रले अन्धाधुन्ध रुपमा र एकपक्षीय रुपमा आधुनिक पाश्चात्य चिकित्सा प्रणालीको मात्र विकास-विस्तारमा जोड दिई राष्ट्रको मौलिक चिकित्साका रुपमा रहेको र सुदीर्घ परम्परा बोकेको आयुर्वेद जस्तो निरापद, सुलभ र स्वदेशी स्रोतबाट प्रदान गर्न सकिने चिकित्सा पद्धतिलाई उपेक्षा गर्ने गरेको तथ्य दुःखपूर्ण छ। आजको समयमा नेपालीहरु पूर्वीय संस्कारको लोप तथा अज्ञानका कारणले र आफ्ना संस्कृतिको वैशिष्ट्य, उत्कृष्टता र महत्त्व नबुझेर पाश्चात्य संस्कृति, भेषभूषा, खानपान र जीवनशैलीमा आकर्षित हुँदै गएको देखिन्छ जुन घातक तथा शोचनीय छ।आफ्नो सबै नराम्रो र अर्काको सबै राम्रो भन्ने प्रवृत्तिले जरा गाड्दै गएको देखिन्छ।पाश्चात्यहरुद्वारा कुनै समयमा लादिएको अनुत्पादक, निरुद्यमी, पठित मूर्ख र बेरोजगारहरुको भीड तयार पार्ने शिक्षा आजसम्म पनि हामी बोकेर हिँडिरहेकै छौं। यस्तो अवस्थामा आफ्ना संस्कृति, संस्कार र ज्ञानहरुको भण्डारका रुपमा रहेका उत्कृष्ट विद्याबाट नेपाली समाज वञ्चित रही अनभिज्ञ हुन पुगेको देखिन्छ।परम्परागत रुपमा पालापुर्खाबाट हस्तान्तरित हुँदै आएको विशिष्ट ज्ञान आधुनिक भनिएको यही शिक्षापरिपाटीका कारण लुप्त हुन थालेको प्रतीत हुन्छ।
यति हुँदाहुँदै पनि आयुर्वेद चिकित्सा औषधि र आहार-विहार-आचार इत्यादि नियमहरुको उत्कृष्टताले गर्दा र अन्य चिकित्सा पद्धतिको पार्श्वप्रभाव र क्षणिक प्रभावले आक्रान्त जनमानसमा पुनः आयुर्वेद प्रति चासो जाग्न थालेको अनुभूति भने हुन्छ नै।देश संघीयतामा गएपश्चात् प्रदेश सरकारहरुले उल्लेखनीय रुपमा बजेट तथा कार्यक्रमहरुको व्यवस्था गरी आजको अवस्थामा आइपुग्दा आयुर्वेदले पुनः लामो फड्को मार्न कोशिश गरिराखेको अवस्था छ। स्थानीय सरकारले पनि आयुर्वेदका स्वास्थ्यसेवा थप गर्न र अझ विकास तथा विस्तार गर्न तत्परता देखाउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ।
साथै आयुर्वेद चिकित्सकहरु तथा विशेषगरी आधुनिक चिकित्साका चिकित्सकहरुले पनि एक अर्काका चिकित्सा पद्धतिप्रति सहिष्णु बनिदिन एवं विनाप्रमाण, तथ्य नबुझी लाञ्छना लगाउने र बिरामीहरुलाई दिग्भ्रमित गर्ने काम नगरिदिनुहुन समेत हार्दिक आग्रह गर्दछु। जय आयुर्वेद।
डा. वशंवदाम्बा कौण्डिन्न्यायनी
आयुर्वेद चिकित्सक
एम. डी. कायचिकित्सा
Email: vashamvada@gmail.com
Mobile: 9841163694
हाल कार्यरतः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा-५, काभ्रे