भाडाका घरमा गाउँका सिंहदरबार, ६ पालिका अझै अस्थायी भवनमा
नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेको छ । सोहि बमोजिम संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहको पहिलो निर्वाचन २०७४ सालमा तीन चरणमा सम्पन्न भएको थियो । काभ्रेमा पहिलो चरणमा अर्थात वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको थियो । सिंहदरबारमा केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पुर्याउनका लागि यो निर्वाचनलाई एउटा अवसरका रुपमा व्याख्या गरिएको थियो । सोहि अनुसार स्थानीय सेवा व्यवस्थापन, न्याय सम्पादनको भूमिका, राजस्व संकलन स्थानीय स्तरका विकास आयोजना तथा परियोजना, आधारभुत तथा माध्यामिक शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको छ ।
गाउँगाउँमा सिंहदरबार बनाउने नारा सहित निर्वाचन भएको साढे ६ वर्ष बितिसक्दा पनि काभ्रेका झण्डै आधा स्थानीय तहहरु भने भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन । यो विचमा जनप्रतिनिधिहरुले ५ वर्षे कार्यकाल पुरा गरेर दोस्रो निर्वाचन सम्पन्न भएको पनि १८ महिना पुरा भइसकेको छ । हालसम्म जिल्लाका १३ वटा पालिका मध्ये ६ वटाले अस्थायी प्रशासनिक भवनबाट सेवा दिइरहेका छन । त्यसमध्ये २ वटा पालिका भाडाको घरबाट सञ्चालन भइरहेका छन । काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाले भाडाको घरबाट नागरिकलाई सेवा दिइरहेका छन । यस्तै जिल्लाको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिका, चौरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अस्थायी रुपमा खडा गरिएका कार्यालयबाट सेवा दिइरहेका छन भने भुम्लु गाउँपालिकाले वडा कार्यालयको भवनबाट सेवा दिइरहेको छ । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले मात्रै आफ्नै स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन । १३ स्थानीय तहका १ सय ३५ वडा मध्ये ११ वटा वडा कार्यालय अझैसम्म पनि भाडाका घरबाट सञ्चालनमा छन । राज्य पुर्नसंरचना पछि ८२ वटा नयाँ वडा कार्यालय मध्ये केहि सम्पन्न भएका छन् भने केहि निर्माणाधिन छन । ४२ वटा वडा कार्यालय भने साबिकका भवनलाई व्यवस्थापन गरेर सेवा दिँदै आइरहेका छन ।

खानीखोला गाउँपालिका
काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन । खानीखोला पुग्न जति सकस छ भवन अभावले सेवा प्रवाह पनि त्यति नै कठिन बनेको छ । गाउँपालिकाले वर्षमा १० लाखभन्दा बढी भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले जानकारी दिए । उनका अनुसार सामुदायिक भवनबाट केहि सेवा प्रवाह गरिरहे पनि सबै शाखाहरु भाडाकै घरबाट सञ्चालन भइरहेको छ । वडा नम्बर १, २, ६ र ७ को कार्यालय पनि भाडा तिरेर सञ्चालन भइरहेको छ । वडा नम्बर ३,४,र ५ मा भने नयाँ भवन निर्माण भइसकेको छ ।
महाभारत गाउँपालिका
खानीखोला गाउँपालिकाको छिमेकी पालिका महाभारतले भने पालिकाको अस्थायी भवन मार्फत सेवा दिइरहेको छ । पालिकाको स्थायी भवन निर्माणको क्रममा रहेको गाउँपालिकाका सुचना अधिकारी दिनेश बस्नेतले जानकारी दिए । पालिकाका ८ वटै वडाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ ।
बेथानचोक गाउँपालिका
यता, बेथानचोक गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै वडा कार्यालय भवन सुविधा सम्पन्न बनाइसक्दा पनि पालिकाको स्थायी प्रशासनिक भवनको भने अझै टुंगो लागेको छैन । गाउँपालिका कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन । पालिकाको स्थायी प्रशासनिक भवन निर्माणका लागि प्रकृयामै रहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । जग्गा खोज्ने विषयमा कुरा नमिल्दा भवन निर्माण कार्य सुरु हुन नसकेको उपाध्यक्ष तिमल्सिनाले बताइन् । पालिकाको आफ्नै भवन नहुँदा वार्षिक ५ लाखभन्दा बढी घर भाडामा खर्च हुँदै आइरहेको छ ।
चौरीदेउराली गाउँपालिका
चौरीदेउराली गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माण गरेको छैन । यसअघि निर्माण भएको भवनलाई व्यवस्थापन गरेर अस्थायी रुपमा कार्यालय सञ्चालन गरिएको छ । प्रशासनिक भवन सञ्चालनका लागि भाडा भने तिर्नु परेको छैन । नयाँ भवन निर्माण गर्ने योजनामा पलिका रहेको उपाध्यक्ष शेरबहादुर लामाले बताए । पालिका अन्तर्गत वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर २ को वडा कार्यालय निर्माणाधिन छ भने वडा नम्बर ३ ले पुरानो भवनलाई व्यवस्थापन गरेर वडा कार्यालय सञ्चालन गर्दै आएको छ । वडा नम्बर ४, ६ र ७ ले पनि भइरहेको भवनलाई व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छन । वडा नम्बर ५, ८ र ९ मा भने नयाँ भवन निर्माण गरिएको प्रवक्ता धन बहादुर तामाङले जानकारी दिएका छन ।
भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिकाले पनि अझै आफ्नो प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । वडा नम्बर ५ को वडा कार्यालय भवनमार्फत गाउँपालिका सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए । जग्गा प्राप्तिको प्रकृयामा आफुहरु रहेको उनको भनाई छ । पालिका अन्तर्गत वडा नम्बर १, २, ३, ८, ९, १० ले आफ्नै भवन मार्फत सेवा दिइरहेका छन । वडा नम्बर ४ र ६ को कार्यालय यसअघिकै भवनमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ७ को वडा कार्यालय भवन निर्माणाधिन छ ।
रोशी गाउँपालिका
रोशी गाउँपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन÷चैतदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्नेगरी पालिकाले तयारी गरिरहेको उपाध्यक्ष मिमबहादुर वाइबाले बताए । पालिका अन्तर्गत वडा नम्बर १२ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा उपलब्ध गराइरहेका छन ।
तेमाल गाउँपालिका
तेमाल गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । पालिका अन्तर्गतका वडा कार्यालयले पनि आफ्नै भवनबाट सेवा दिइरहेको प्रवक्ता इन्द्रलाल तामाङले जानकारी दिए ।
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिकाले भर्खरै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको नगरपालिकाले झण्डै २४ करोडको लागतमा निर्मित नयाँ भवनबाट सेवा प्रवाह थालेको हो । पालिकाको प्रशासनिक भवन सुविधासम्पन्न बने पनि वडा कार्यालय भने केहि भाडामा र केहि पुरानै भवनलाई व्यवस्थापन गरि सेवा प्रवाह गर्न बाध्य छन् । वडा नम्बर ९ र १२ को वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको उप–प्रमुख विष्णुमणी नेपालले बताए । वडा नम्बर १, ४ र ६ बाहेक अन्य वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छैन ।
पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिइरहेको छ । पालिका अन्तर्गतका वडा कार्यालय भवन निर्माण भने अपेक्षा अनुसार हुन सकेको छैन । वडा नम्बर १, २, ५, ७, ८, १०, १२ को नयाँ वडा कार्यालय भवन निर्माण भएको उप–प्रमुख सुर्यमाया दनुवारले जानकारी दिइन । वडा नम्बर ६ को वडा कार्यालय नगरपालिकाको पुरानो कार्यालयबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ९, ११ र १३ ले वडामा रहेको भवनलाई व्यवस्थापन गरेर सेवा दिइरहेका छन । वडा नम्बर ३ र ४ को आफ्नै वडा कार्यालय भवन छैन । दुइवटै वडा कार्यालयले स्वाथ्य केन्द्रको पुरानो भवनबाट सेवा दिइरहेका छन ।
बनेपा, धुलिखेल र पनौती नगरपालिका
शहरी क्षेत्रमा पर्ने धुलिखेल, बनेपा पनौती नगरपालिकाको भने आफ्नै प्रशासनिक भवन छन् । यद्यपी वडा कार्यालय भवन भने अझै व्यवस्थित भइसकेका छैनन । बनेपा नगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १२ र १४ को मात्रै नयाँ भवन बनेको छ । बाँकी वडा कार्यालय यसअघि नै निर्माण भएका सामुदायिक भवनलाई लगायतका विभिन्न भवनलाइ व्यवस्थित गरेर सञ्चालन भएका छन । यस्तै धुलिखेल नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन भएपनि नगरपालिकाका ४ वटा वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेका छन । वडा नम्बर ३, ७, ८ र ९ ले भाडाको घरबाट सेवा दिइरहेका छन । वडा नम्बर १ को मात्रै नयाँ वडा कार्यालय भवन निर्माण भएको छ भने बाँकी वडाले विभिन्न प्रयोजनका लागि यस अघि निर्माण भएका भवन मार्फत सेवा प्रवाह गरिरहेका छन । यस्तै पनौती नगरपालिकाको पनि आफ्नै प्रशासनिक भवन छ । २०७४ पछि वडा नम्बर ३ र ४ को सुविधा सम्पन्न भवन निर्माण भएको छ भने वडा नम्बर ५ र ८ को वडा कार्यालय भवन निर्माणाधिन छ । बाँकी वडा कार्यालयहरुले भने साबिका कार्यालयलाई व्यवस्थित गर्दै सेवा दिइरहेका छन ।
नमोवुद्ध नगरपालिका
नमोवुद्ध नगरपालिकाले भने सरकारी भवन निर्माणमा उल्लेख्य प्रगती गरेको छ । नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको उप–प्रमुख रत्न बहादुर लामाले बताए । बाँकी वडा कार्यालयहरुले नयाँ भवनबाट सेवा प्रवाह गरिरहेका छन ।