इजरायल र हमासबीचको युद्धविराम दुई दिन लम्बियो
इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । मध्यस्तकर्ता कतारका अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स अर्थात् ट्विटरमा गाजापट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको उल्लेख गरेका छन ।
सो अवधिमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । चार दिने युद्धविराम सकिनु अघि सोमबार हमासले थप ११ जना इजरायलीलाई रिहा गरेको थियो । रिहा गरिएकामा तीन वर्षीया जुम्ल्याहा सहित महिला र बालबालिका रहेका छन् ।
त्यसको बदलामा इजरायलले ३३ प्यालेष्टेनी बन्दी रिहा गरेको छ । इजरायल र हमासबीचको सम्झौता अनुसार हमासले ५० जना बन्धक रिहा गर्ने जनाए पनि ५० भन्दा बढी बन्धक रिहा गरिसकेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार युद्धविरामका बीच गाजामा खाद्यान्न, औषधि र इन्धनहरु आपूर्ति गरिएको छ ।