प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले भोलि आफू कोप–२८ सम्मेलनमा जान लागेको जानकारी गराउँदै सुझाव मागेका थिए । ओलीले प्रधानमन्त्रीलाई सुझाव दिँदै आफू पनि मध्यपहाडी लोकमार्गको पदयात्रा निस्कन लागेको जानकारी गराएका छन । दुई नेताहरुबीचको भेटमा गणतन्त्रविरोधी पछिल्ला आन्दोलन, संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगोलगायतको विषयमा पनि छलफल भएको बताइएको छ ।
पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैल्याउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।