भुकम्प पीडितका लागि जनक माविका विद्यार्थीले देउसी भैलोबाट संकलन गरेको रकम प्रधानमन्त्रीलाइ हस्तान्तरण

भुकम्प पीडितका लागि श्री जनक माध्यामिक विद्यालय तथा जनक क्याम्पसका विद्यार्थीहरूले सङ्कलन गरेको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको छ ।

देउसी भैलो कार्यक्रम सञ्चालन गरी संकलन भएको १६ लाख २५ हजार ३६० रुपैया मध्येबाट ७ लाख नगद र ७५० सेट न्यानो कपडा प्रधानमन्त्री ’प्रचण्ड’ एवम् उपप्रधान तथा गृहमन्त्री नारायणाकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पबाट प्रभावित क्षेत्रका ७५० जना विद्यार्थीहलाई सो सहयोग पुर्याउने व्यवस्था मिलाइएको छ ।

श्री जनक माध्यामिक विद्यालय, जनक क्याम्पस, पतञ्जली योग समिति र जेसिजको आयोजनामा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम कार्तिक २७ र २८ गते सञ्चालन भएको थियो ।

उक्त कार्यक्रमबाट भूकम्प क्षेत्रका पीडित समूदाय प्रतिको भावनात्मक र मानवीय आत्मीयता तथा एक क्षेत्रका विद्यार्थीले अर्को क्षेत्रका विद्यार्थीको अवस्था प्रति सद्भाव समेत झल्किएको छ ।

विद्यार्थीले हस्तान्तरण गरेको रकम तथा कपडा वुझ्दै प्रधानमन्त्री प्रचण्डले देश भरिकै नमूना र प्रशंसनीय कार्य नमोवुद्धका विद्यार्थीले गरेको भन्दै प्रसंसा गरेका छन । भावनात्मक संवेदना बुझेकोमा विद्यार्थीहरू, आयोजक र स्थानीय जनसमुदायलाई उनले धन्यवाद दिएका छन ।

दुःखमा मल्हम लगाउने यस्तो काम सर्हानिय रहेको उनको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा विद्यालयको भ्रमणा गर्ने इच्छा व्यक्त गरेका छन ।

नमूना विद्यालय विकासका लागि छनोट भई कार्यान्वयनको अवस्थामा रहेको जनक माध्यामिक विद्यालयमा प्राविधिक धारमा पशुविज्ञान कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कुखुरा पालन, बाख्रा पालन, मौरी पालन, गाई भैंसी पालन, तरकारी खेती, फूल खेती, लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका विद्यालय संयोजक तथा सूचना अधिकारी हरिहर अधिकारीले बताएका छन ।