तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र ३६ जना घाइते

 तनहुँ/तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो। राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये ९ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ। अन्यको दमौली अस्पताल र नहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।