समाजिक सञ्जालप्रति झन् कठोर बन्ने सरकारको संकेत, टिकटक जस्तै अन्य एप प्रतिबन्धको तयारी

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले थप सामाजिक सञ्जालमाथि पनि निगरानी बढाएको छ । जसले समाजिक सञ्जालप्रति वर्तमान सरकार झन् कठोर बन्ने देखिएको छ ।
गत कात्तिक २७ गते सरकारले सामाजिक विकृति र विसङ्गती फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना भन्दा बढी प्रशंसा भएपछि सरकार अन्य सामाजिक सञ्जाल पनि बन्द गर्न हौसिएको हो । टिकटकपछि सरकारले टिकटक जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि प्रतिबन्धको तयारी गरिरहेको छ ।
सरकारले बिगो लाईभ, स्न्यापच्याट, लाइकी टीन्डर र टेलीग्रामजस्ता सामाजिक सञ्जालमाथि निगरानी सुरु गरेको हो । प्रधानमन्त्री कार्यालयले विज्ञहरुसहितको टोली नै बनाएर यस्ता सामाजिक सञ्जालहरुमाथि निगरानी गरिरहेको बुझिएको छ ।
मन्त्रिपरिषद्बाट सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धि निर्देशिका पारित गरेर सरकार सामाजिक सञ्जालप्रति कठोर बनेको हो । सरकारी रवैया नियमन गर्ने भन्दा पनि सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन बढी उत्साहित रहेको पाइएको छ । टीकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौति दिँदै सर्वोच्च अदालतमा एक दर्जन बढी रिट निवेदन दर्ता भएपछि सर्वोच्चले कारण देखाऊ आदेश मात्रै दिएको छ ।