विश्वविख्यात कूटनीतिज्ञ एवं पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको निधन

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।
कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा ुलिडरसिपः सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजीु पुस्तकसमेत प्रकाशित भएको थियो । जीवनको उत्तरार्धसम्म सक्रिय रहेकाले उनले यही जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए । किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्त्वपूर्ण भूमिकासमेत खेलेका थिए । किसिन्जरको जन्म भने जर्मनीको एक युहदी परिवारमा भएको थियो । तानाशाही नाजीहरूबाट जोगिन उनको परिवार सन् १९३८ मा अमेरिका गएको थियो ।
सन् १९२३ मा जन्मिएका किसिन्जर १९४३ मा अमेरिकी नागरिक बनेका थिए । केही समय हार्भर्ड विश्वविद्यालयमा समेत प्राध्यापन गरेका उनलाई सन् १९६९ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । सन् १९७३ मा भने उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनले नोबेल पुरस्कार पाउँदा विवादसमेत भएको थियो । कम्बोडियामा बम आक्रमण र केही क्रुर शासकलाई सहयोग गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।