काठमाडौ/ दुबई जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ३१ जनालाई नेपाल एयरलाइन्सले फर्काएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको दुबई उडानको समय दुई घण्टा सार्दा ३१ जना यात्रुले विमानस्थल पुगेर फर्कनु परेको हो।
बुधबार राति साढे ११ बजे नेपाल एयरलाइन्सको जहाज दुबईका लागि प्रस्थान गर्ने तालिका थियो। तर प्रचण्डको टोली त्यसतर्फ जाने भएपछि दुई घण्टा उडान सारियो। उडान सार्दा विमानस्थल पुगेका यात्रुले बोर्डिङ हुन पाएनन्। अन्ततः उनीहरू छुटे।
काठमाडौंका प्रज्वल विक्रम राणाले कोप-२८ सम्मेलनमा सहभागी हुन जानका लागि साढे ११ बजेको नेपाल एयरलाइन्सको जहाजको टिकट काटेका थिए। बिहीबारबाट सुरु हुने सम्मेलनमा सहभागी हुन उनी बुधबार साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
आफूले टिकट काटेको विमान साढे ९ बजे नै उड्न लागेको उनले जानकारी पाएका थिए। साढे ८ बजे विमास्थलको बोर्डिङ काउन्टरमा कर्मचारी थिएनन्।
विमान उडेपछि आफूलाई ड्युटी अफिसर भनेर चिनाउँदै एक कर्मचारी आए। प्रधानमन्त्री पुष्पकमल दाहालको सवारीका कारण फ्लाइटलाई दुई घण्टा अगाडि सारिएको जानकारी दिए।
३१ जनाले लिखित पत्र मागेपछि कर्मचारीले एउटा लेटर दिए, जसमा भीभीआईपी सवारीका कारण दुई घण्टा अगाडि फ्लाइट सार्दा यात्रु छुटेको उल्लेख छ।