चिसोले जाजरकोट र रुकुम पश्चिममा २२ भूकम्पपीडितको मृत्यु

जाजरकोट र रुकुम पश्चिममा गरि २२ जना भुकम्प पीडितले चिसोका कारण ज्यान गुमाएका छन । भुकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका जाजरकोटमा १९ जना र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । कतिपयले भूकम्पपछि नियमित औषधि नै सेवन गर्न नपाएका जिल्ला अस्पतालकी प्रमुख डा.प्रतीक्षा भारतीले बताइन् । रोग प्रतिरोधी क्षमता कमजोर, त्यसमा पनि अत्यधिक चिसोको बसाइ, जसलाई उनीहरूको शरीरले पचाउन नसकेको उनको भनाई छ । दुई बालबालिकाले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाएको उनले बताइन् । नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीका अनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति बेहोरेको नलगाडमा झन्डै एक हजार दीर्घरोगी छन् । अधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका उनले जानकारी दिए । मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको उनले बताए । अस्पतालमा आएकालाईऔषधि दिएर पठाएपनि अस्थायी टहरा नबन्दासम्म उनीहरू सबैको ज्यान जोखिममै छरहेको उनले बताए। उनका अनुसार अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जाजरकोटमा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १ हजार ३ सय ६० जना गर्भवती र ९ सय सुत्केरी भूकम्पबाट प्रभावित छन् । रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालीबहादुर ओलीले बताए । उनका अनुसार जिल्लाभरि १ हजार ६८ गर्भवती र ७ सय ३९ सुत्केरी प्रभावित भएका छन् । उनले रुकुम पश्चिममा झन्डै १ हजार २ सय दीर्घरोगी र ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक प्रभावित भएको जानकारी दिए ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित भएका छन् ।