काभ्रेमा ९३ जना एचआईभी संक्रमित, १५ को निधन

एचआईभी संक्रमित भएका महिलाहरु यौन ब्यवसायमा समेत सक्रिय भएकाले सम्पर्कमा जाने पुरुषहरुले सुरक्षित उपाय अपनाउन सरोकारवालाहरुको सुझाव

काभ्रे (बनेपा) ।  काभ्रेपलाञ्चोक जिल्लामा एचआईभी संक्रमितहरुको संख्या ९३ पुगेको छ । अन्य जिल्लाका केहिले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालबाट सेवा लिईरहेका छन् भने जिल्लाका केहि संक्रमितहरुले अन्यत्र सेवा लिईरहेका छन् । यो अवधीमा एचआईभी एड्सका कारण १५ जनाले ज्यान गुमाएका छन् ।

एचआईभी संक्रमणको मुख्य कारण बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुले असुरक्षित यौन सम्पर्कका माध्यमबाट तथा लागु औषधको प्रयोगबाट हुने गरेको काउन्सिलर रुकु भुजेलले बताईन् । धुलिखेल अस्पतालले एचआईभी संक्रमितहरुलाई एआरटी सेवा उपलब्ध गराएको छ भने उपचारमा पनि सहजता प्रदान गरिरहेको छ । एचआईभी संक्रमित मध्ये ४६ जना पुरुष र ४७ जना महिला छन् । एक जना ६ बर्षिया बालिका छिन् । १८ वर्ष देखि ५७ वर्ष उमेर समुहका ९२ जना छन् ।

संक्रमितहरु खुल्न चाहँदा समयमै उपचार हुने हुँदा अभियान्ताहरुले परिक्षण र पहिचानमा जोड दिएका छन् । १७ वर्ष देखि एरआटी सेवा लिएका काभ्रे पनौतीका राजकुमार खत्रीले जिल्लामा एचआईभी संक्रमितहरुका लागि विभेद नभएको बताए । तर संक्रमितहरु खुल्न नचाहँदा नचाहँदै मृत्युको मुखमा पुगेको उनले बताए । एचआईभी एड्सको रोकथामका लागि लागु औषधको प्रयोगमा नियन्त्रण गर्न प्रहरी लगायतका निकायहरु सक्रिय हुनु पर्ने उनको धारणा छ । विद्यालयका बालबालिकाहरु तथा युवाहरु बेरोजगार हुँदा सहज रुपमा लागु औषधको प्रयोगमा पुग्न सक्ने भएकाले अभिभावक र सरोकारवाला निकायले ध्यान दिनु पर्ने खत्रीको भनाई छ ।
चुरोट, गाँजा, सडकमा बस्ने बालबालिकाहरुले प्रयोग गर्ने सुँघ्ने खालको डेनड्राईडको प्रयोग हुँदै सुई र ट्याबलेटको माध्यमबाट लागु औषध प्रयोग गर्ने तहमा पुग्ने बालबालिकाहरुलाई संगत छुटाउन वा कुलतबाट बचाउन अभियान संचालन गर्नु पर्ने सक्रिय प्लसका अध्यक्ष अमिरल खड्काले बताए । जिल्लामा लागु औषध प्रयोगकर्ता तथा बैदेशिक रोजगारमा गएर फर्किएकाहरुबाट एचआईभी संक्रमण फैलिरहेको छ । एचआईभी संक्रमित महिलाहरु यौन ब्यवसायमा समेत संलग्न भएकाले सम्पर्कमा पुग्ने पुरुषहरुले जोखिमबाट बच्न सुरक्षा अपनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
मुलुकभर बेरोजगारको संख्या बढिरहेका बेला एचआईभी संक्रमितहरु समेत बेरोजगार भएको बताउँदै अभियान्ता राजकुमार खत्रीले आयआर्जन गर्न सक्ने खालका कार्यक्रमहरु स्थानीय सरकारले उपलब्ध गराउन सके आत्मनिर्भर हुन सक्ने बताए । जिल्लामा रहेका केहि संक्रमितहरुबाट जन्मिएका बच्चाहरु संक्रमित छैनन । २० जना बालबालिकाहरु संक्रमित अभिभावकबाट जन्मिएका भए पनि संक्रमित छैनन । श्रीमान संक्रमित, श्रीमान श्रीमती दुबै संक्रमित वा एक मात्रै संक्रमित हुँदा पनि एकबाट अर्काेमा संक्रमण फैलिएको नभए पनि विहिबार मात्रै ५० वर्षिया महिलामा श्रीमानबाट संक्रमण भएको पुष्टी भएको अस्पतालमा कार्यरत काउन्सिलर रुकु भुजेलले बताईन् । नियमित मात्रा पु¥याएर एआरटी सेवन गरे एकबाट अर्काेमा संक्रमण फैलदैन ।
जिल्लामा एचआईभी एड्स विरुद्ध विश्व एड्स दिवसको अवसर पारी एविएम स्कुल बनेपा, सक्रिय प्लस बनेपामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । न्यानो कपडा वितरण तथा साँझ दिप प्रज्वलन गरी दिवंगत भएकाहरुको सम्झना गरिने अध्यक्ष अमिर खड्काले बताए ।