सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफः टिकटकले सामाजिक सद्‌भाव बिथोल्दै घृणा फैलायो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल नरोके निकट भविष्यमा सामाजिक रूपमा भयावह स्थिति आउन सक्ने देखिएकाले टिकटकलाई प्रतिबन्ध लगाइएको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा दर्ता गरिएका १६ वटा रिट निवेदनको एकमुस्ट लिखित जवाफ दिँदै उनले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण (डिजिटल पोलुसन) बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी गरेका छन ।

‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रूपमा फैलिँदै गई प्रविधिगत प्रदूषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको उनको भनाई छ ।

टिकटकले सामाजिक सद्‌भाव बिथोल्दै घृणा फैलाएको, अश्लील सामग्री सेयर बढेको दाबी प्रधानमन्त्रीले जवाफमा गरेका छन्। व्यक्तिगत मानमर्दन गर्ने, बदलाको भावनाबाट प्रेरित भएर आवेशपूर्ण अभिव्यक्ति पोस्ट गर्नेलगायतका विकृति बढेकाले टिकटकमा प्रतिबन्ध लगाउनुपरेको जिकिर उनले गरेका छन्।

समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्दै गतिशील समाज निर्माण गरिनु सरकार, न्यायपालिकालगायत सम्बन्धित सबै निकायको कर्तव्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले टिकटक प्रतिबन्धविरुद्ध परेका सबै रिट निवेदन खारेज गरिदिन अदालतसँग माग गरेका छन्।

टिकटक प्रयोगमा प्रतिबन्ध लगाउँदा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक कुण्ठित भएको भन्ने निवेदकको दाबीमा सत्यता नभएको जिकिर प्रधानमन्त्रीले गरेका छन्।

लिखित जवाफमा उनले साम्प्रदायिक सद्‌भावमा खलल, गाली बेइज्जती, सार्वजनिक शिष्टाचार र नैतिकताविरुद्धका कुरा प्रतिबन्ध लगाउन बाधा नहुने उल्लेख गर्दै उनले यसको नजिरसमेत रहेको जिकिर गरेका छन्।

टिकटकबाट नागरिकको गोपनीयता तथा राष्ट्रिय सुरक्षामै चुनौती बढेको दाबी प्रधानमन्त्रीले गरेका छन्।