महिनावारी सुरक्षाका लागि स्यानिटरी प्याड बनाउने तालिम

पनौतीमा स्यानिटरी प्याड बनाउने तालिम आयोजना गरिएको छ । पनौती जेसीजको आयोजना, यशश्वी युवा समाज र SRHRxMenstrual Hubको प्राविधिक सहयोगमा महिनावारी स्वास्थ्य र पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने तालिम दिइएको हो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा पनौती नगरपालिकाका १२ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिइएको छ । महिला स्वास्थ्य स्वयमसेविका मार्फत प्रत्येक वडाले आफ्नो वडामा यस्ता तालिम दिई वातावरण संरक्षण सँगै महिलाको स्वास्थ्य राम्रो हुने आयोजकको विश्वास छ । साथै आफैंले प्याड बनाउँदा खर्च घट्न गई आर्थिक अवस्था समेत राम्रो हुने पनौती जेसीजका अध्यक्ष राजेन्द्र महाजुले बताएका छन ।

पनौती नगरपालिका वडा नम्बर ७ मा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुको सभापतित्वमा कार्यक्रम सुभारम्भ गरिएको थियो ।

 

कार्यक्रममा यशश्वी युवा समाजका अध्यक्ष राजुु सुवाल, SRHRxMenstrual Hub का सह- संस्थापक प्रशिक्षक सरिता दुवाल, पनौती नगरपालिका वडा नम्बर १० का वडा सदस्य सरीता नेपाल, पनौती जेसीजका पूर्व अध्यक्ष राजाराम कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।