विवाह गर्न वडाको सिफारिस अनिवार्य

सिन्धुलीको मरिण गाउँपालिकाले वालविवाह न्यूनिकरणका लागि भन्दै मंसिरदेखी विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ ।

विवाह अघि दुलाहा दुलहीको विवाह योग्य उमेर अनिवार्य रुपमा एकिन एवं प्रमाणित गराई सम्बन्धित वडा कार्यालयबाट विवाहका लागि अनुमति लिएर मात्र विवाह गर्नुपर्ने नियम लागू गरिएको गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले जानकारी दिएका छन। वालविवाह न्यूनिकरण एवं सभ्य र शिक्षित समाज निर्माणमा यो व्यवस्था कोसेढुंगा सावित हुने उनको विश्वास छ ।

वडाबाट विवाह योग्य उमेर एकिन गराउन २० वर्ष उमेर पुगेको हुनुपर्नेछ । २० वर्षमुनीका युवायुवतीले विवाह गरे वालविवाह ठहर्ने भएकाले कानून अनुसार दण्डसजाय हुने पनि गाउँपालिकाले जनाएको छ ।

विवाह अघि जन्मदर्ता पेश गरेर वडाबाट विवाहको सिफारिस लिनुपर्ने र सोही सिफारिसका आधारमा विवाह दर्ता गरिने पनि गाउँपालिकाले जनाएको छ ।

यसैगरी गाउँपालिकाले स्नताक तहको अध्ययन पूरा गर्ने किशोरीलाई १ लाख नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने पनि जनाएको छ ।