आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा
आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता स् अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंदै छ । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।
दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन।