मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

 

काठमाडौं/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका छन्। उनले आज (आइतवार) दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्। गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ ।

प्रदेश सरकार गत असारमा बजेट कार्यक्रम पारित गर्दाको चरणमा प्रतिपक्ष दलहरूसँग गरेको सहमतिका कारण दबाबमा छ । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रम पारित गर्दाको समयमा मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपासँग गरेको सम्झौता अहिले सरकारको लागि समस्याको विषय बनेको हो ।

बजेट पारित भएपछि पनि प्रतिपक्ष दलहरूसँगको सम्झौताका कारण गत भदौ र असोजमा बजेको प्रदेशसभा बैठकहरू समेत अवरुद्ध बनेको थियो। गत असार २२ गते बजेट पारित गर्दाको समयमा सत्तापक्ष र प्रतिपक्षको बिचमा भएको आन्तरिक सम्झौतामा विवाद हुँदा भदौ र असोज महिनामा आह्वान गरिएका बैठकहरू अवरुद्ध हुँदा प्रदेशसभाका काम कारबाही समेत प्रभावित बनेको थियो । असोज १४ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक सोही सम्झौताका कारण अवरुद्ध बनेको थियो भने सरकार र प्रतिपक्ष दलहरू बिचको आन्तरिक समस्या प्रदेशसभा बैठकमा पोखिएपछि सदन बस्न नै सकसपूर्ण भएको थियो ।

विपक्षी दलहरू सहमति कार्यान्वयनको चरणमा नगएसम्म सदन चल्न नदिने अडानमा रहेपछि उनले छलफलका लागि बैठक बोलाएका गरेका हुन्।