‘केपी बा’ दोस्रो पटक मण्डन आउँदै
स्थानीय पार्टीलाई निम्ता गर्न भ्याइनभ्याइ, निम्तालुलाई २४ अगाडी आलु रोपीसक्ने चटारो

होमप्रसाद चौंलागाँईं
मण्डनदेउपुर कम्यूनिष्ट आन्दोलको इतिहास बोकेको भूगोल हो । भूमिगत राजनितिको कुरा गर्नुपर्दा मण्डनदेउपुरको बिभिन्न भूगोलहरुमा केन्द्रियस्तरका तत्कालिन नेताहरुको उपस्थितिमा बिभिन्न मिटिङहरु भएको वजनदार इतिहास छ । तत्कालिन नयाँगाउँ गाउँ विकास समितिको सर्वझाङ, कुन्तावेसीस्थित कृष्णकुमार श्रेष्ठको निवासमा विभिन्न खालका महत्वपूर्ण वैठकहरु भएर केन्द्रिय योजनाहरु बनेको कुरा सिंगो मण्डनको लागि नै एउटा गर्वको विषय हो ।
मण्डनदेउपुरको भूगोलमा नेकपा एमालेका केन्द्रिय नेताहरु माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, प्रदिप नेपाल, ईश्वर पोखरेल लगायतका नेताहरुको पटक पटक उपस्थिति रहेको इतिहास छ ।
पार्टीका प्रभावशाली नेता पार्टी उपाध्यक्ष ईश्वर पोखरेलको पत्नि मिरा ध्वजु नैबिसे बसेको र डेडीथुम्कामा अध्यापन गराएको सन्दर्भ पाका पूरानाहरुले बेलाबखत उठाउने गर्दछन् । सांगाठानिक कामको सन्दर्भमा शिक्षक बनेर कुमार खकुरेल, प्रज्जवल चापागाँईं, शिव भुर्तेल, कैलाश भण्डारी, रोम निरौला, बिजय अर्याल, इन्दिरा श्रेष्ठ आर्याल, गगन प्रसाद दाहाल, जनकलाल यादव, भानुभक्त थपलिया लगायतका सरहरुको उपस्थिति रहेको इतिहास छ ।
यी र यावत सन्दर्भहरुले कम्यूनिष्ट पार्टीको इतिहासमा मण्डन गर्वीलो रहँदै आएको छ । यस अगाडी पहिलो पल्ट के.पी. शर्मा ओली मण्डन अन्तर्गत १२ नं. ईलाकाको उद्घाटन गर्न कुन्तावेसी आएका थिए । १२ नं. ईलाकामा तत्कालिन मण्डनको महादेवस्थान, चण्डेनी, ज्याम्दी र जैसिथोक लगायतका ४ ओटा गा.वि.स.हरु पर्दथे । जतिबेला पार्टी केन्द्रमा महासचिव र तल सचिवीय प्रणालीमा संगठन चल्ने गरेको थियो ।
ईलाका सचिव एकराजकुमार शाहीको सभापतित्वमा भएको इलाका अधिवेशनको उद्घाटन समारोह के.पी. ओलीको प्रमुख आतिथ्यतामा भएपछिको निकै लामो समयको अन्तरालमा ओली मण्डन दोस्रो पटक आउन लागेको स्थानीयहरु बताउन थालेका छन् ।
के.पी. ओलीको आगमन यो दोस्रो पटकभन्दा पनि एउटा ऐतिहासिक भएको स्थानीयहरु बताउन थालेका छन् । एक त ओली बा राष्ट्रिय अभिभावक बनिरहेको सन्दर्भ र अर्को नेकपा एमालेले शुरु गरिरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग, संकल्प समृद्धि यात्राको समेत महत्वपूर्ण बेला भएकोले मण्डनको चिया, चौकोदेखि होटल पसल र टोल टोलका स्थानीय बजारहरुमा २४ गतेको चर्चाचुलिन थालेको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा यसै क्षेत्रका माननीय गोकुल बाँस्कोटा आफैं मञ्च निर्माणस्थल र वडा वडाको भेलामा उपस्थिति भएकोबाट थप चर्चा चुलिन थालेको हो । यसै सन्दर्भमा १५ गते मण्डनदेउपुरको विस्तारित वैठक, ७ नं. वडाको वैठक, १६ गते एकै दिन वडा नं. ५, १ र २ को वडास्तरी भेलाहरु सम्पन्न भैसकेका छन् । मंसिर १७ गते एकै दिन वडा नं. ११, ९, ८, ४ र ३ को वडास्तरीय भेलाहरु हुनेछन् भने बाँकीरहेका वडाहरुको भेला १८ गते हुने बताइएको छ । सबै वडा भेलाहरुमा माननीय गोकुल बाँस्कोटा आफैं उपस्थित हुने बताइएको छ । मंसिर १८ गतेपछि टोल टोल र वस्ती बस्तीमा आ–आफ्नै खालका तयारीहरु हुनेछन् ।
एकातिर वडास्तरका भेलाको चटारो भैरहँदा निमन्त्रणाको सन्दर्भ जोडिरहेको छ भने अर्कोतर्फ मण्डनभेगमा आलु खेतीको मध्य सिजन भएकोले २४ गते अघि कामको मेसो मिलाउन आम किसानहरु स्वस्फूर्त रुपमा ब्यस्त भएको देखिन्छ ।