पञ्चायतकालमा दरबारको सहयोगमा शुरु भएको साँगा कोट खानेपानी समितिको पाँचौँ साधारण सभा सम्पन्न

जयदेश श्रेष्ठ
साँगा
साँगा कोट खानेपानी जल उपभोक्ता समितिको पाँचौँ साधारण सभा सम्पन्न भएको छ । जल उपभोक्ता समितिका अध्यक्ष केशव प्रधानको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्वर १४ का अध्यक्ष टुल्कु लामाको प्रमुख आतिथ्यता रहेको थियो ।  वडा सदस्य कार्यवाहक अध्यक्ष राजु मधिकर्मीको आतिथ्यता रहेको थियो । 
सभामा पूर्व गाविस अध्यक्ष रामहरि श्रेष्ठ, पुर्व अध्यक्ष सूर्यनारायण नापित, महेन्द्र मावीका अध्यक्ष माधवनारायण जोशी लगायतले मन्तब्य राखेका थिए । नेपाली काँग्रेसका वडा सभापति राजेन्द्र जोशी, एमाले पार्टीका सचिव प्रकाश बुढाथोकी, बन उपभोक्ता समितिका अध्यक्ष कर्मा लामा लगायतका व्यक्तिहरूले आफ्नो धारणा सहितको शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । समितिको तर्फबाट पूर्ण कुमार मानन्धरले स्वागत मन्तव्य सहित आर्थिक वर्षको वासलात खर्च विवरण प्रस्तुत गरेका थिए । उपभोक्ता समितिको आर्थिक वर्ष भावी कार्य योजना सम्बन्धी विवरण सह सचिव राजाराम दुवालले प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सिद्धिलाल श्रेष्ठ, जल उपभोक्ता समितिका अध्यक्ष केशव प्रधान सहितले समग्र संस्थाका विषयमा जानकारी गराएका थिए । विश्वरामभक्त दिङ्गलको पहलमा पञ्चायतकालिन राजदरबार सचिव निरञ्जननाथ खनालबाट साँगामा खानेपानी बिस्तार भएको थियो ।  टोल टोलमा सार्वजनिक धारा जडान गरिएकोमा सोहि ब्यवस्थापनलाई २०६१ सालमा घर घरमा धारा वितरण गर्दै साँगा कोट खानेपानी जल उपभोक्ता समिति गठन भएको थियो ।
विभिन्न दातृ निकायहरू सँग समन्वय गर्दै खानेपानी बिस्तार सुधार गर्दै डिपबोरिङबाट समेत पानी ब्यवस्थापन गरिएको छ । तर पनि दैनिक बल्लतल्ल एक घण्टा पानी वितरण हुने र निकै उचाईमा पानी ट्याङ्की भएर पनि तल गहिराईको घरहरूमा पानी छतमा चढ्न सकेको छैन । पानी तान्न मोटरको प्रयोग गर्नु पर्ने उपभोक्ताको समस्या छ । ब्यवस्थापनको कमजोरीले गर्दा कुनै बेलाको बिधुत प्राधिकरणको जस्तै भयावह लोड सेडिङ अवस्थामा जसोतसो पानी वितरण भई रहेको छ । विभिन्न निकायहरूसँग आर्थिक सहयोगबाट खानेपानी बिस्तार र सुधार गरिए पनि आपतकालिन अग्नि नियन्त्रणको लागी व्यवस्था गरिएको सुरक्षा प्रणालीको वाटर फायर भएर पनि हालै साँगामा भएको घर आगलागीमा खानेपानीको ब्यवस्थापनको कमजोरीले गर्दा कुनै सहयोग हुन सकेन । वार्षिक वासलात बराबर हुने साँगाकोट खानेपानी जल उपभोक्ता समितिले ५ वर्ष देखी आफ्नो वार्षिकोत्सव प्रतिवेदन सार्बजनिक गर्दै आएको छ ।