भारतको विधानसभा चुनावमा भाजपाको बहुमत
भारतको चार राज्यमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले तीन राज्यमा बहुमत पाएको छ ।
भाजपाले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरु मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बहुमत प्राप्त गरेको हो । राजस्थान र छत्तीसगढ यसअघि कंग्रेस आईको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको चुनावमा भाजपा हाबी भएको छ ।
मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना हिजो एकैसाथ भएको हो । मिजोरममा भने आज मतगणना हुनेछ । तेलंगानामा भने कांग्रेसले जित हासिल गरेको हो ।
यसअघि दक्षिणी राज्य कर्नाटकमा जित हात पारेको कांग्रेसले त्यही क्षेत्रको तेलंगानामा भने सफलता पाएको छ । त्यहाँ क्षेत्रीय पार्टी बीआरएसको सरकार थियो । विधानसभा निर्वाचनको पछिल्लो परिणामले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको प्रभाव झनै विस्तार भएको देखाएको छ ।