काठमाडौं विश्वविद्यालय र धनेश्वर आधारभुत विद्यालयबीच अनुभव आदानप्रदान

शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं विश्वविाद्यालय र पनौती नगरपालिका वडा नम्बर ५ मा रहेको श्री धनेश्वर महादेव आधारभुत विद्यालयबीच अनुभव आदानप्रदान भएको छ । आइतबार विद्यालयमा एक कार्यक्रमकाबीच अन्तरक्रिया, समुहगत छलफल सहित समयसापेक्ष शिक्षणका लागि अनुभव आदानप्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले जानकारी दिएका छन ।

कक्षाकोठा सम्बन्धी कार्यमुलक अनुसन्धान सोधपत्र तयार पार्नका लागि काठमाडौं विश्वविद्यालय स्कुल आफ एजुकेशन अन्तर्गत २०२२ तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विद्यालय भ्रमण गरेका हुन । सो क्रममा शिक्षण सिकाइका लागि विद्यालयले प्रयोग गरिरहेको विधि र विद्यालयको वर्तमान अवस्था बारे प्रधानाध्यापक महेश्वरी न्यौपानेले जानकारी गराएकी थिइन् । यस्तै विद्यालय व्यवस्थापान समितिका अध्यक्ष अनिरुद्र थापाले विद्यालयले गरिरहेका सुधारका प्रयास र विद्यालयको आवश्यकता बारे बताएका थिए ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन भिजिटिङ फ्याकल्टिकी प्राध्यापक रोजिना केसीले विगतका वर्षदेखी नै धनेश्वर आधाभुत विद्यालयसँग सहकार्य भइरहेको बताइन् । विद्यालयको आवश्यकताको पहिचान गर्दै समस्या समाधान गर्न, शिक्षण सिकाई प्रभावकारी बनाउन सहकार्य महत्वपुर्ण रहेको उनको भनाई छ । विद्यालयले भौतिक पुर्वाधारमा सुधारसँगै शिक्षणमा नयाँ–नयाँ विधिको प्रयोग गरिहेको भन्दै उनले खुसी व्यक्त गरेकी छन ।

छलफलका क्रममा शिक्षक, विद्यार्थी र अभिभावको भोगाई, आवश्यकता र पठनपाठनमा कसरी सुधार ल्याउने भन्ने बारे छलफल भएको थियो । योजनावद्ध कार्य, आवश्यक तालिम, समयसापेक्ष शिक्षण विधिको प्रयोगको लागि सहकार्य महत्वपुर्ण रहेको दुवै पक्षले बताएका छन ।