घर घरमा आर्थिक मन्दिको असर :बिक्नै छाड्यो दुध, अण्डा, मासु र तरकारी
तिहार अघि ९० रुपैया केजीमा खरिद गरिएको काउली अहिले १५ रुपैया केजीमा पनि विक्री भएको छैन । कृषकले पाउने मुल्य ८ रुपैया भन्दा धेरै छैन । गोलभेडा, भेन्टा, आलु लगायतका तरकारी विक्री नहुँदा कृषकले उचित मुल्य पाउन सकेका छैनन भने उपभोक्ताहरुले पनि मुल्य घटिरहँदा समेत उपभोग गर्न सकिरहेका छैनन ।
‘उपभोक्ता कम भएका पनि हैनन, उपभोक्तासँग खर्च गर्न श्रोत घटिरहेको छ’– वित्तिय विश्लेषक केशव अधिकारीले भने–‘उपभोक्ताको क्रय शक्ति घटिरहँदा उत्पादन भएका बस्तुहरुको उपभोग पनि घटिरहेको छ । अर्काे तर्फ छिमेकी मुलुकबाट आउने तरकारी लगायतका उत्पादनहरु निर्वाध छन् । नेपालमा उत्पादन भएका तरकारी, दुध, मासु, अण्डा लगायतका खाद्यान्नहरु विक्रीमा गिरावट आएको छ ।’
कार्तिक महिनाको मध्यसम्ममा कुखुरा जिउँदो प्रति केजी ३ सय १० रुपैया थियो । उक्त मुल्य घटेर अहिले कुखुरा पालक ब्यवसायी संघले प्रति केजी २ सय कायम गरे पनि कृषकहरुले १ सय ९० रुपैया मात्रै पाउने गरेका छन् । मासु प्रति केजी ४ सय २० रुपैया पुगेको थियो । अहिले खुद्रा मुल्य प्रति केजी २ सय ७० रुपैयामा पनि विक्री नभएर ब्यवसायी हैरानी ब्यहोर्न थालेका छन् । मसिंर महिना सरदर अन्य महिनाको तुलनामा विवाह लगायतका शुभ कार्यहरु हुने भएकाले धेरै खपत हुने अपेक्षा गरेका कुखुरापालक कृषक तथा ब्यवसायीहरु अपेक्षित विक्री नहुँदा संकट बढ्ने चिन्तामा छन् । कुखुराको मासु जस्तै अण्डा ३ हजार १ सय रुपैया प्रति बाक्साबाट घटेर २ हजार ४ सयमा आएको छ । तर पनि सहज रुपमा विक्री भएको छैन । सानो अण्डाको मुल्य मनलाग्दी छ । २ हजार ५ सय रुपैयासम्म विक्री हुने गरेको अण्डा अहिले १ हजार ९ सयसम्ममा विक्री भए पनि बजार सहज हुन सकेको छैन । कुखुरापालक ब्यवसायीहरु ब्यवसायबाट पलायन हुनु पर्ने अवस्था सिर्जना भएको ब्यवसायीहरुले बताएका छन् ।
कुखुरा, तरकारी जस्तै कृषकहरुको प्रमुख पेशा पशुपालनबाट पलायन हुने अवस्था सिर्जना हुन थालेको पशुपालक कृषकहरुले बताएका छन् । दशै अघि देखि नै दुध विक्रीमा आएको गिरावटका कारण कृषक मात्रै नभई दुग्ध ब्यवसायीहरु पनि संकटमा पर्न थालेका छन् । लम्पि स्किनका कारण मरेका पशुहरुको क्षतिपुर्ति पाउन त कता हो कता कृषकहरु बाँचेका पशुहरु पनि विक्री गरेर पलायन हुनु पर्ने अवस्थामा पुगेको कृषक अर्जुन न्यौपानेले बताए । ‘दशै अघि देखि नै दुग्ध विकास संस्थानले दुध खरिदमा सुस्तता ल्याएको छ । विक्री नभएका कारण खरिदमा ध्यान दिएको छैन । खरिद गरेको दुधको भुक्तानी समेत समयमा दिन सकेको छैन’– जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडालले भने–‘सरकारी तथा नीजि क्षेत्रले संकलन गरेको दुग्ध तथा दुग्धजन्य सामाग्री विक्री हुन सकेको छैन ।’ अहिले ब्यवसायीहरुसँग अरबौको सामाग्री स्टक छ । कृषकहरु तरकारी खेति गर्दा कालोबजारीमा खरिद गरिएको मल तथा विउ विजन सम्झिएर चिन्तामा छन् ।
ब्यवसाय ठप्प छ । सटर, पसल खाली हुन थालेका छन् । युवाहरु दैनिक विदेशिन बाध्य छन् । आर्थिक मन्दीको असर घर घरमा पसेको छ । उत्पादन भएका सामाग्री विक्री हुँदैन, उत्पादन नहुने सामान किन्नै सकिन्न उपभोक्ता राजु खरेलले भने । सरकारले महङ्गी नियन्त्रण गर्न नसक्दा उपभोक्ताहरु मारमा छन् । चीनीको मुल्य दोब्बर जस्तै भएको छ । अन्य उपभोग्य सामाग्रीको मुल्य आकाशिएको छ ।