हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

हिमाली जिल्लाहरुमा हिमपात भएको छ । हिमाली जिल्ला मुस्ताङ, हुम्ला, बागलुङ लगायतका जिल्लामा हिमपात सुरु भएको हो ।

हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्षको पहिलो हिमपात भएको छ । आज सोमवार बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले टेलिफोनमा जानकारी दिएका छन। 

हिमाली जिल्ला हुम्लामा पनि हिमपात भएको छ । हिजो आइतवार रातिसम्म सफा रहेको मौसममा हावाहुरी शुरु भएसँगै आज सोमवार बिहानैदेखि हिमापात शुरु भएको हो । हुम्लामा पनि यो वर्षको पहिलो हिमपात भएको हो । यस्तै बागलुङ–रुकुम सिमानामा पातिहाल्नेमा समेत भारी हिमपात भएको छ । आज विहानैदेखी यो क्षेत्रमा हिमपात भइरहेको छ ।