बनेपा चारदोबाटोमा हिंसा विरुद्ध नाटक

१६ दिने लैङ्गिग हिंसा विरुद्धको अभियानका क्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले बनेपाको चारदोवाटोमा सडक नाटक प्रस्तुत गर्दै जिल्लामा नेतृत्व गरिरहेका विभिन्न कार्यालयका प्रमुख महिलाहरुलाई सम्मान गरेको छ ।

समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरी सांगितिक कार्यक्रम मार्फत हिंसा न्यूनिकरण गर्ने प्रयत्न गरिएको बताए । त्यस्तै गौतमले जिल्लाका विभिन्न कार्यालयमा प्रमुख भई कार्यरत महिलाहरु, जनप्रतिनिधि महिलाहरुलाई सम्मान गरिएको बताए ।

हिंसा नगर्ने प्रतिवद्धता आफैबाट शुरु गर्नु पर्ने बताउँदै समन्वय समिति प्रमुख गौतमले जिल्लालाई हिंसा नहुने अर्थात हिंसा कम भएको जिल्लाका रुपमा चिनाउन सबै क्षेत्रको उत्तिक्कै भूमिका आवश्यक हुने बताए । कार्यक्रममा चर्चित कलाकारहरु आयुषा गौतम लगायतले गित मार्फत सन्देशमुलक सांगितिक प्रस्तुती गरेका थिए भने सडक नाटकले हिंसा न्यूनिकरणका लागि सबैको भूमिका अनिवार्य रहेको सन्देश दिएको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष तथा उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, विद्यार्थी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।