पनौतीमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविका पुरस्कृत, १७ जनालाई सम्मान सहित विदाई

स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नाराका साथ पनौती नगरपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने स्वयंसेवकलाई पुरस्कृत गरिएको छ भने समयावधि पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित विदाई गरिएको छ ।

नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगरपालिकामा कार्यरत १ सय ४ जना महिला स्वयंसेविकाहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । यस्तै हरेक वडामा उत्कृष्ट कार्य गर्ने १÷१ जना महिला स्वास्थ्य स्वयंसेविलाई नगद सहित सम्मान गरिएको छ । १२ जना स्वास्थ्य स्वयंसेविकालाई नगद ३ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवसकै अवसर पारेर १७ जनालाई सम्मान सहित विदाई गरिएकोृ छ । उमेर हदका कारण ६० वर्ष उमेर पुगेका १७ जना स्वयंसेवकलाई विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताए ।

उनीहरुलाई नगद ३० हजार, दोसल्ला, मायाको चिनो र कदरपत्र सहित विदाई गरिएको छ । सबै महिला स्वयं सेविकहरुको भूमिकालाई स्मरण गर्दै थप प्रोत्साहान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले बताइन । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, सामाजिक विकास समिति संयोजक विपिन लामा, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, विभिन्न शाखाका शाखा प्रमुख, फोकल व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।

पनौती नगरपालिकाले स्वास्थ्य स्वयंसेवकलाई मासिक यातायात खर्च उपलब्ध गराउने गरेको छ भने क्षमता अभिवृद्धि कार्यक्रम र अध्ययन अवलोकन भ्रमण गराउँदै आएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

विमा प्रिमियमको ५० प्रतिशत रकम नगरपालिकाले नै भुत्तानी दिने गरेको छ । यस्तै वागमती प्रदेश सरकारले प्रोत्साहन रकम उपलब्ध गराउने गरेको छ भने संघीय सरकारले पोशाक भत्ता र यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।

महिला, बालबालिका,सुत्केरी÷गर्भवती महिलाहरुको स्वास्थ्य प्रवद्र्धनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाको भनाई छ । उनीहरुकै कारण बाल मृत्यु, मातृ मृत्यु क्रमशः घट्दै गएको उनले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा मेरुदण्डको रुपमा काम गरिरहेको उनको भनाई छ ।