इंग्लीश प्रिमियर लिग फुटबलः इन्ज्युरी समयको गोलमा आर्सनल विजयी

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति अर्सनलले लुटन टाउनलाई ४–३ ले हराएको छ । लुटन टाउनको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टिनेली, ग्याब्रियल जिसस, काई हाभर्ट्ज र डेक्लन राइसले एक एक गोल गरे ।

लुटनका ग्याब्रियल ओशो, एलिया अडेबायो र रोस बार्क्लेले एक एक गोल फर्काए । निकै प्रतिस्पर्धात्मक खेलमा इन्ज्युरी समयमा गोल गर्दै आर्सनल विजयी भएको हो । आर्सनलका गेब्रियल मार्टिनेलीले २० औँ, गेब्रियल जेससले ४५ औँ, काई हाभेर्ट्जले ६० औँ र डेकलन राइसले इन्ज्युरी समयको ७ औँ मिनेटमा गोल गरे । लुटोन टाउनका गेब्रियल ओशोले २५ औँ, एलिजह एडेबायोले ४९ औँ र रोस बार्क्लेले ५७ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै आर्सनल १५ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । आर्सनलले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ५ अङ्कको अग्रता बनाएको छ । लुटोन टाउन उति नै खेलमा ९ अङ्कसहित १७ औँ स्थानमा छ ।

यस्तै गए राति नै भएको अर्को खेलमा उल्भ्सले बर्नलेलाई १–० गोल अन्तरले हरायो । मोलिनेक्स स्टेडियममा भएको खेलमा उल्भ्सको जितमा ४२ औँ मिनेटमा ह्वाङ ही चानले गोल गरे । यो जितसँगै उल्भ्स १५ खेलमा १८ अङ्कसहित तालिकाको १२ औँ स्थानमा छ । बर्नले उति नै खेलमा ७ अङ्कसहित १९ औँ स्थानमा छ ।