काभ्रेमा ३३ बोरा चिनी बरामद
फाइल तस्बिर
काभ्रेपलाञ्चोक / इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बुधवार बिहान गाडी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१ हजार ६ सय ५० किलो) चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाण्डौ जाँदै गरेको बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको ३३ बोरमा चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न ठाउँबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत धुलिखेल–९ को काभ्रेभञ्ज्याङमा गएको कात्तिक तेस्रो हप्ता जाँचका क्रममा गाडीबाट अवैधरूपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरेको थियो ।
प्रहरीले कात्तिक पहिलो हप्ता यही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छली आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बीपी राजमार्गमा गाडी जाँचमा अवैधरूपमा चिनी भित्रिने गरेको पाइएपछि नियमित यातायातका गाडी जाँच गर्न थालिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।