बालकृष्ण खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने टुंगो मंसिर २८ गते लाग्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने टुंगो मंसिर २८ गते लाग्ने भएको छ । खाँणको निवेदनमा उच्च अदालत पाटनले मंसिर २८ गतेको पेसी तोकेको हो ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो । उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको हो ।

मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए ।

त्यहीकारण आगामी मंसिर २८ गते तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ तोकिएको हो ।