उच्च रक्तचाप सम्बन्धी २ दिने कार्यशाला धुलिखेलमा सुरु

काभ्रे । काभ्रेको धुलिखेलमा उच्च रक्तचाप सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय वागमती प्रदेश, जिल्ला समन्वय समित काभ्रे, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा भएको कार्यशालामा वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशक सहित काभ्रे, रामेछाप, चितवन, धादिङ लगायत जिल्लाका सरोकारवालको उपस्थिती रहेको छ ।
६५ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्यांक छ । त्यसमा पनि एकचौथाई मानिसको मृत्यु उच्च रक्तचापबाट हुने गरेको छ । सुषुप्त महामारीको रुपमा फैलिरहेको नसर्ने रोगको महामारी कम गर्न छलफल प्रभावकारी हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख डा. अनिता खनालले जानकारी दिइन् । उनका अनुसार उच्च रक्तचापको समस्या बढ्दो छ । उनका अनुसार काभ्रे जिल्लामा ५० हजार जनसंख्या उच्च रक्तचापबाट पीडित रहेको अनुमान छ ।
केन्द्रिय सरकार, बागमती प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा सन् २०२५ सम्म १५ हजार स्कृनिङ गर्ने योजना छ । चालु आर्थिक वर्ष ७ हजार ५ सय उच्च रक्तचापका बिरामी पत्ता लगाउने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य छ । काभ्रेमा मे २०२३ बाट उच्च रक्तचाप सम्बन्धी पाइलट प्रोजेक्ट सुरु भएको थियो । कार्यशालामा हालसम्म भएका प्रगतीबारे पनि छलफल हुनेछ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख दिपक गौतमले बदलिँदो जीवनशैली र आकांक्षा पुरा नहुँदा बढ्ने नैराश्यताले रोग निम्त्याइ रहेको बताए । उनले समय–समयमा स्वास्थ्य परिक्षण गराउन र आफुुसँग भएको कुरामा सन्तुष्ट हुन सक्नुपर्ने बताएका छन ।
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक शारदा प्रसाद घिमिरेले नसर्ने रोगको संक्रमण बढ्दै गएको बताउँदै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन । नसर्ने रोग साइलन्स (सुषुप्त) महामारीको रुपमा रहेको बताए । प्रदेश सरकारको पहिलो प्राथमिकता नसर्ने रोगको स्किृनिङ रहेको उनको भनाई छ छ । यसका लागि मुख्यमन्त्री जनता कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । यसले रोगको पहिचान गर्दै उपचारमा सघाउने मन्त्रालयको विश्वास छ । अस्वस्थ खानपान तथा निश्क्रिय जीवनशैलीले पनि नसर्ने रोग बढाइरहेको उनले जानकारी दिए । नसर्ने रोगबाट बच्नको लागि व्यवहार परिवर्तन जरुरी रहेकोमा उनले जोड दिएका छन । उनले उच्च रक्तचाप लगायत नसर्ने रोग निवारणका लागि प्रभावकारी तथा देखिनेगरी समन्वय गर्न निर्देशन पनि दिएका छन ।
यस्तै वागमती प्रदेश स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले उच्च रक्तचाप सम्बन्धी नमुना कार्यक्रम काभ्रेमा सुरु भएको बताए । यसको उपलब्धीका आधारमा अन्य जिल्लामा समेत कार्यक्रम विस्तार गर्ने उनले बताए । उनले केहि नभएपनि समय–समयमा स्वास्थ्य परिक्षण गर्न, रोग पत्ता लागेपछि नियमित औषधी सेवन गर्न आग्रह गरेका छन । यस्तै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले रोग पुर्ण रुपमा निको नभएपनि औधषी सेवनबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिने बताए । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले यस सम्बन्धी तालिम, औषधी उपकरणको प्रबन्ध र समन्वय गर्दै आएको छ ।
