एमालेको सङ्कल्प यात्रा पोखरा आइपुग्यो, २४ गते काभ्रेमा विशाल जनसभा

बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको सङ्कल्प यात्रा पोखरा आइपुगेको छ । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ हुँदै एमालेको यात्रा हिजो बिहीवार कास्कीको पोखरा आइपुगेको हो ।

उक्त टोली मंसिर २४ गते आइतबार काभ्रे आइपुग्ने छ । नेकपा एमालेले मण्डनदेउपुरमा विशाल जनसभाको आयोजना गरेको नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिएका छन ।

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित ९ दिनअघि शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर टुङ्गिने छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा १९ दिनसम्म चल्ने अभियानमा झन्डै २ हजार किलोमिटरको यात्रा र लाखौँ स्थानीयवासीसँग छलफल गर्ने एमालेले जनाएको छ ।

सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोवास गर्ने स्थानीयवासीसँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्य रहेको एमाले नेताहरूले बताएका छन् ।