धुलिखेलले आयोजना गरेको नगरस्तरीय लोकगायन प्रतियोगितामा नमोवुद्ध मावि प्रथम

धुलिखेल नगरपालिकाले आयोजना गरेको नगरस्तरीय शैक्षिक लोकगायन प्रतियोगितामा शंखुमा रहेको नमोवुद्ध माध्यमिक विद्यालय प्रथम भएको छ । धुलिखेलको शैक्षिक अभियान विद्यार्थीको प्रतिभा पहिचान भन्ने नाराका साथ आयोजना गरिएको लोकगायन प्रतियोगितामा कक्षा ९ देखी १२ सम्म अध्धयनरत १२ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । पहिलो भएको नमोवुद्ध माविले नगद ७ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै सञ्जीवनी मावि धुलिखेल दोस्रो, कालीदेवी मावि तेस्रो हुन सफल भएका छन । दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार रु ७ हजार प्राप्त गरेका छन । यस्तै पुर्णसञ्जीवनी लंखनामाई मावि र हनुमान माविले सान्त्वना स्थान प्राप्त गरेका छन । सान्त्वना स्थान हासिल गरेका दुवै विद्यालयले नगद १५÷१५ सय रुपैयाँ प्राप्त गरेका छन । कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो ।

हाम्रो मौलिक लोक संस्कृतिको संरक्षणका लागि प्रतियोगिता महत्वपुर्ण हुने नगर प्रमुख ब्याञ्जुले बताएका छन । कला, सस्कृतिको नगरीको रुपमा चिनिने पर्यटकीय शहर धुलिखेलमा रहेका मौलिक संस्कृति नगरपालिकाको सम्पति भएको भन्दै उनले संरक्षणमा जोड दिएका छन ।