कुन्ताबेशीको सभामा बिस हजार भन्दा धेरै सहभागी गराउने एमाले काभ्रेको तयारी

नेकपा एमाले काभ्रेपलाञ्चोकले प्रेस चौतारी काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा मसिंर २४ गते हुने मण्डनदेउपुरको विशाल सभाका बारेमा जानकारी गराएको छ । प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल, प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारीहरु तथा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले सभाको तयारी र त्यसको सन्देशका बारेमा जानकारी दिएका थिए ।
एमालेले शुरु गरेको अभियानको ११ औ दिन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको संयुक्त सभा मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशी खेल मैदानमा हुँदैछ । उक्त सभाका लागि दुबै जिल्लाले स्थानीय कमिटी मार्फत कार्यकर्ता तथा नागरिकहरु सभामा सहभागि गराउन तयारी गरिरहेको एमाले नेताहरुले बताएका छन् । २० हजार भन्दा धेरैको सहभागिता गराउने गरी क्षेत्र र कमिटी तोकेर जिम्मेवारी दिएको एमाले अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए ।

अभियानको टोली अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नुवाकोट जिल्लाको विदुर हुँदै सिन्धुपाल्चोकको मेलम्चीबाट बाहुनेपाटीबाट मण्डनदेउपुर प्रवेश गर्नेछ । सोहि दिन त्यहाँ आयोजित सभामा सम्बोधन पछि धुलिखेलमा आयोजना गरिएको एमाले निकट मानवअधिकार एलायन्सको सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले सचिव राजन भुर्तेलले जानकारी दिए । सोहि दिन धुलिखेलमा बास बसेर मसिंर २५ गते विहान ७ बजे अभियानको टोली पाँचखाल हुँदै दोलालघाटबाट सिन्धुपाल्चोकको खाँडीचौर हुँदै दोलखामा गएर सभामा सहभागि हुनेछ ।
एमालेले सभालाई भब्य बनाउन र नागरिकहरुका भावना संकलन गर्ने तयारी गरेको छ । एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा लगायतका नेताहरु अहिले मण्डनदेउपुर र आफ्ना मातहतका कमिटीहरुमा तयारीका लागि घर दैलो अभियानमा जुटेका छन् ।