कामविहीन बने बागमती प्रदेश सांसद, दुई महिनासम्म पनि बसेन प्रदेश सभा बैठक

दुई महिनादेखि बागमती प्रदेश सभा बैठक नबस्दा सांसद कामविहीन जस्तै भएका छन । आफ्ना क्षेत्रको कुरा समेत राख्न नपाएको सांसदको गुनासो छ । पछिल्लो पटक २२ असोजमा बैठक बसेको थियो।

उक्त बैठकबाट २ वटा विधेयक पारित भएका थिए। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित भएको प्रदेश सभासभामुख भुवन पाठकले सदनलाई जानकारी गराएका थिए।

त्यसको दुई दिनपछि अर्थात् २४ असोजमा बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्‍यो। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेश सभाको १२औँ बर्खे अधिवेशन २३ गते (मंगलबार) मध्यराति १२ बजेदेखि अन्त्य गरेका थिए।

बर्खे अधिवेशन अन्त्य भएको ५९ दिन बितिसक्दा पनि हिउँदे अधिवेशनको आह्वान गरिएको छैन। झन्डै दुई महिनासम्म प्रदेश सभा सांसदहरू कामविहीन जस्तै छन्( न प्रदेश सभा बैठक बस्ने चटारो न त अन्य जिल्लाका सांसदलाई प्रदेशको राजधानीसम्म आउने झन्झट।

सरकारले हिउँदे अधिवेशन आह्वान गर्न चासो नदेखाउँदा सांसदहरूले कामविना नै सेवा सुविधा भने पाइरहेका छन्। यद्यपी बैठक नबस्दा सदनमा आफ्ना कुरा राख्न नपाएको प्रदेश सभा सांसदहरूको गुनासो छ। समय(समयमा सदन बसे आफ्ना निर्वाचन क्षेत्रका नागरिकको समस्या सदनमा उठाउन पाइनेमा लामो समयदेखि बैठक नबस्दा समस्या भइरहेको सांसदहरू बताउँछन्।