जुम्लाको तापक्रम माइनसमा, सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए।

तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन्। एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ।

यसैबिच सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म भएको छ । बिहानैदेखि बादल र हुस्सु लागेको छ । यसले गर्दा चिसो बढेको छ । बादल र हुस्सु लागेको ठाउँमा पश्चिमी वायुको प्रभाव रहेको मौमसविद् गंगा नगरकोटीले जानकारी दिइन । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हिजोको जस्तो मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन। हुस्सु हटेर केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनको भनाई छ । यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशको मौसम भने सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ८ दशमलव २ डिग्री सेल्सियस थियो ।