कुन्ताबेशी सभाका लागि बास्कोटाले गरे ‘चुल्हे निम्तो’

नेकपा एमालेले भोली मसिर २४ गते दिउसो १२ बजे मण्डनदेउपुरको कुन्ताबेशी आउन जिल्लाबासीहरुमा आब्हान गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले मण्डनदेउपुरबासीहरु सबैलाई घर घरमा निम्ता पठाईएको बताए भने जिल्लाबासीहरु सम्पूर्णलाई विशाल सभामा सहभागि हुन आब्हान गरेका छन् । एमालेको १९ दिने महाकाली–मेची अभियानको ११ औ दिन भोली मण्डनदेउपुरमा आईपुग्ने केन्द्रिय टोलीको स्वागतका लागि एमाले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाले भब्य तयारी गरेका छन् ।
‘मण्डनदेउपुर नगरपालिकाका अधिकांश घरमा चुल्हे निम्ता गरेका छौं’–पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले भने–‘स्थानीय पार्टी कमिटी, जनसंगठनहरु परिचालन गरिएको छ । स्थानीय राजनीतिक दलका सबै नेताहरुलाई समेत सभामा सहभागिताका लागि निम्ता गरिएको छ ।’ विशाल सभाका लागि मञ्च ब्यवस्थापन समितिले मञ्च निर्माण कार्य सम्पन्न गरेको छ भने कुन्ताबेशी बेहुली झै रगिंएको छ । स्वागतका लागि गेटहरु निर्माण गरिएको छ । सभाका लागि दुबै जिल्लाबाट सर्वसाधारणको सहभागिता हुनेछ । अधिकांश स्थानीय कमिटीहरुले वडा वडा र घर घरबाट सभामा सहभागि हुने गरी ब्यवस्थापन गरिरहेका छन् ।
सभामा दुई जना बक्ता रहनेछन् । केन्द्रिय अध्यक्ष केपी ओली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटा । काभ्रेपलाञ्चोक जिल्लाका अध्यक्ष अशोक ब्याञ्जुले स्वागत सहितको कार्यक्रम संचालन गर्नेछन भने सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले अध्यक्षता गर्नेछन् । सभा छोटो हुने भएकाले स्थानीय तथा जिल्लाको संकल्पका बारेमा काभ्रे र सिन्धुपाल्चोकका नेताहरुले जानकारी गराउनेछन् ।