वैदेशिक रोजगारीका लागि एक सय ४४ मुलुकमा नेपाली युवा, ६५ प्रतिशत खाडी र मलेसियामा

वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका एक सय ४४ मुलुकमा पुगेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ६५ प्रतिशत युवा खाडीका विभिन्न मुलुक र मलेसियामा गएका छन ।

वैदेशिक रोजगार विभागको विगत १० वर्षको तथ्यांकअनुसार खाडी र मलेसियामा मात्रै ३५ लाख २३ हजार दुई सय ४९ नेपाली युवा गए । सो अवधिमा ५४ लाख ९२ हजार चार सय चार नेपाली युवा रोजगारीका लागि बिदेसिएका छन । गत आर्थिक वर्ष ०७९÷८० मा ७ लाख ७१ हजार ३२७ नेपालीले संस्थागत र व्यक्तिगत रूपमा १४४ देशमा रोजगारीका लागि जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उनीहरूमध्ये ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला छन ।

सरकारले भने वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था गरेको छ । नेपाली श्रमिक द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन । रोजगारीका लागि सरकारले धेरै मुलुक खुला गरे पनि हालसम्म ११ मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम मानिएका देशमा पनि नेपाली श्रमिक श्रम स्वीकृति लिएरै गएको तथ्यांकले देखाउँछ ।