त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ। भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो। सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए।
क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ। यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन्। विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।
पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो।