काभ्रे हेभि ईक्युपमेन्ट संघ स्थानीय तहमा विस्तार हुँदै

धुलिखेल/काभ्रे हेभि ईक्युपमेन्ट ब्यवसायी संघको नव निर्वाचित समितिको पहिलो बैठकले आधा दर्जन निर्णय गरेको छ । अध्यक्ष प्रभुराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले समितिको खाता परिवर्तन देखि संस्थागत सुधार, ब्यवसायीक हित र संरक्षण गर्ने निर्णय गरेको छ ।
बैठकले हेभि ईक्युपमेन्ट भएका ब्यवसायीहरुलाई संघमा आवद्ध गराउने, संघमा भएका सबै सदस्यहरुका मेशिनहरु संघमा दर्ता गराउने र दर्ता प्रयोजनका लागि आवश्यक शुल्क लिने निर्णय गरेको अध्यक्ष प्रभुराम श्रेष्ठले जानकारी दिए । त्यस्तै जिल्ला संघबाट सम्झौता गरी पठाएका मेशिनहरु बापत लिईने शुल्क मध्ये एक्साभेटरको ५ हजार र ब्याकुलोडरको २ हजार ५ सय संघले लिने निर्णय गरेको छ । जिल्लाभरी रहेका त्यस्ता मेशिनहरुको तथ्यांक संकलन गरी सुचिकृत गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
पालिका स्तरमा हेभि इक्युपमेन्ट समिति गठन गरी स्थानीय स्तरमा हुने विकास निर्माणमा सहजिकरण गर्ने तथा सहज रुपमा सेवा प्रदान गर्न आवश्यक समन्वय प्रदान गर्ने संघले निर्णय गरेको छ । संघमा आवद्ध उपकरणहरुको सहुलिय दरमा विमा गराउने ब्यवस्था मिलाउने अध्यक्ष श्रेष्ठले बताए । आगामी दिनमा संघले ब्यवसायी र ब्यवसायको हितका लागि सामाजिक कार्यहरु समेत गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।