मण्डनदेउपुरमा एमालेको सभा शुरु

नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को ११ औ दिन काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका कुन्ताबेशीमा सिन्धुपाल्चोक जिल्लाका पार्टी नेता तथा कार्यकर्ता, सर्वसाधारणहरुको समेत सहभागितामा विशाल सभा शुरु भएको छ । 
सभामा केन्द्रिय अध्यक्ष केपी शर्मा ओली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् । काभ्रेपलाञ्चोक जिल्लाका अध्यक्ष अशोक ब्याञ्जुले स्वागत सहित कार्यक्रम संचालन गरेका छन् भने सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले अध्यक्षता गरेका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको संयुक्त सभा मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशी खेल मैदानमा आयोजना गरिएको हो । सभामा दुबै जिल्लाबाट कार्यकर्ता तथा नागरिकहरु सहभागि भएका छन् । सभाका लागि विभिन्न स्थानबाट आउने सवारी साधनको ब्यवस्थापन गरिएको छ । सभामा सहभागिताका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले मण्डनदेउपुरबासीहरु सबैलाई घर घरमा निम्ता पठाएका थिए भने एमाले काभ्रेलृ जिल्लाबासीहरु सम्पूर्णलाई विशाल सभामा सहभागि हुन आब्हान गरेको पथियो । सभा वरपर विभिन्न झाँकिहरु प्रस्तुत गरिएका थिए । 
       अभियानको टोली नुवाकोट जिल्लाको विदुर हुँदै सिन्धुपाल्चोकको मेलम्चीबाट बाहुनेपाटीमा खाना खाएर सभा स्थल मण्डनदेउपुर प्रवेश गरेको थियो । सभा सम्पन्न भए पछि धुलिखेलमा आयोजना गरिएको एमाले निकट मानवअधिकार एलायन्सको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । साँझ धुलिखेलमा बास बसेर भोली मसिंर २५ गते विहान ७ बजे अभियानको टोली पाँचखाल हुँदै दोलालघाटबाट सिन्धुपाल्चोकको खाँडीचौर हुँदै दोलखामा गएर सभामा सहभागि हुनेछ ।